शीर्षकहरू

भ्रामक सूचना र आन्दोलनबारे द ब्रिटिश कलेजको स्पष्टोक्ति

भ्रामक सूचना र आन्दोलनबारे द ब्रिटिश कलेजको स्पष्टोक्ति

काठमाडौं । थापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी) ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत फैलाइएका भ्रामक सूचना, अफवाह र आन्दोलनसम्बन्धी घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कलेजले केही व्यक्तिहरूले संस्थाको प्रतिष्ठामा क्षति पु¥याउने र आर्थिक लाभ लिने उद्देश्यले घटनाक्रमलाई उग्र बनाएको दाबी गरेको छ ।

सन् २०११ मा स्थापना भएको द ब्रिटिश कलेज नेपालमा बेलायतका विश्वविद्यालयसँगको साझेदारीमा उच्च शिक्षा प्रदान गर्दै आएको संस्था हो । कलेजले आफू नेपालमा ब्रिटिश एक्रिडिटेशन काउन्सिलबाट मान्यता प्राप्त कलेज भएको, नेपाल सरकारका प्रचलित नियमहरू पालना गर्दै आएको र हाल करिब एक हजार ५०० विद्यार्थी अध्ययनरत रहेको जनाएको छ ।

कलेजका अनुसार पछिल्लो विवाद हस्पिटालिटी म्यानेजमेन्टअन्तर्गतको फाउन्डेसन कार्यक्रम तथा दुबईस्थित उलविच इन्स्टिच्यूटसँगको शैक्षिक सहकार्यसँग सम्बन्धित हो । हस्पिटालिटी म्यानेजमेन्टको फाउन्डेसन कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भइसकेको र त्यससम्बन्धी आधिकारिक कागजात उपलब्ध रहेको कलेजको भनाइ छ ।

उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले दुबईमा पियर्सन एचएण्डडी डिप्लोमा पूरा गरी अन्तिम वर्ष (टप–अप) अध्ययनका लागि अन्य देश जान सक्ने संरचना अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको दाबी कलेजले गरेको छ ।

उलविच इन्स्टिच्यूट दुबई सरकारको लाइसेन्स प्राप्त तथा केएचडीए नियमनअन्तर्गत सञ्चालनमा रहेको स्वतन्त्र संस्था भएको कलेजले स्पष्ट पारेको छ । हाल पनि तीन दर्जनभन्दा बढी नेपाली विद्यार्थी दुबईमा अध्ययनरत रहेको जनाइएको छ ।

कलेजले आन्दोलनको सुरुआत सीमित जिज्ञासाबाट भए पनि पछि केही व्यक्तिहरूले आर्थिक लाभका लागि त्यसलाई उग्र बनाएको दाबी गरेको छ । विज्ञप्तिअनुसार दुबईमा अनुशासनात्मक कारबाहीको सम्भावना सामना गरेका एक पूर्व विद्यार्थी र उनका सहयोगीहरूले अन्य विद्यार्थीलाई अध्ययन छोडेर नेपाल फर्कन उक्साएका थिए । ह्वाट्सएप सन्देशमार्फत कलेजबाट ठूलो रकम असुल्ने योजना बनाइएको दाबीसमेत कलेजले गरेको छ ।

नेपाल फर्किएपछि ९ जना विद्यार्थीले कलेज परिसरमा प्रदर्शन गरेको, कक्षाकोठा अवरुद्ध गरिएको, कर्मचारीमाथि दुव्र्यवहार भएको तथा सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गरिएको कलेजको भनाइ छ ।

त्यसपछि विभिन्न राजनीतिक विद्यार्थी संगठनसँग आबद्ध ४० भन्दा बढी असम्बन्धित व्यक्तिहरू क्याम्पस प्रवेश गरी हुलदंगा मच्चाएको र प्रहरी हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको जनाइएको छ । कलेज प्रशासनलाई धम्की तथा प्रलोभन दिएका एक पूर्व विद्यार्थी राष्ट्रिय दण्ड संहिता, २०७४ अन्तर्गत आर्थिक दबाबसम्बन्धी आरोपमा पक्राउसमेत परेका छन् ।

यद्यपि कलेजले समस्याको समाधानका लागि अभिभावक र विद्यार्थीहरूसँग संवाद गर्दै पूर्ण शुल्क फिर्ता, अन्य कार्यक्रम वा संस्थामा स्थानान्तरण तथा अध्ययन निरन्तरताका विकल्प प्रस्ताव गरेको जनाएको छ ।

दुबईबाट फर्किएका ९ मध्ये ७ जनाले समाधान स्वीकार गरेको र २ जना पुनः दुबई फर्किएको कलेजले जनाएको छ । यसैबीच, दुबई अध्ययन भिसाका लागि नो अब्जेक्सन लेटर अस्थायी रूपमा रोकिँदा केही कार्यक्रम प्रभावित भएको स्वीकार गर्दै कलेजले प्रभावित विद्यार्थीहरूलाई वैकल्पिक मार्ग र आवश्यक सहयोग उपलब्ध गराएको जनाएको छ ।

द ब्रिटिश कलेजले शैक्षिक उत्कृष्टता, पारदर्शिता, नियामक अनुपालन र आर्थिक दबाबप्रति शून्य सहनशीलताको नीति दोहो¥याउँदै नेपालमै गुणस्तरीय ब्रिटिश शिक्षा उपलब्ध गराउने आफ्नो मूल उद्देश्यप्रति प्रतिबद्ध रहेको भन्दै सञ्चारमाध्यमहरूलाई पत्रमार्फत जानकारी गराएको छ ।