काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालले ३२ लाखभन्दा बढी सिम कार्ड आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म २० करोड ६० लाख रुपैयाँभन्दा बढी मूल्यका ३२ लाख ८२ हजार ५९३ थान सिम कार्ड नेपाल भित्रिएको छ।
सिम कार्ड आयातबाट सरकारले सो अवधिमा ५ करोड ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ।
तथ्यांकअनुसार नेपालमा सिम कार्ड विश्वका नौ देशबाट आयात भएका छन्। आयातको ठूलो हिस्सा चीनबाट आएको छ। पुससम्म चीनबाट मात्रै ३२ लाख २ हजार ५३५ थान सिम कार्ड आयात भएको छ, जसको मूल्य २० करोड ४७ लाख रुपैयाँभन्दा बढी रहेको छ।
यसैगरी मेक्सिकोबाट ५० हजार थान सिम कार्ड आयात भएको छ, जसको मूल्य ५ लाख ८ हजार रुपैयाँ छ भने बेलायतबाट २० हजार २ थान सिम कार्ड ६ लाख २२ हजार रुपैयाँ बराबर आयात गरिएको छ।
अष्ट्रेलियाबाट १० हजार थान सिम कार्ड १ लाख ६० हजार रुपैयाँमा आयात भएको छ। जापानबाट ५० थान सिम कार्ड ३ हजार रुपैयाँ बराबर आएको छ। त्यस्तै अमेरिका, कतार, कुवेत र डेनमार्कबाट न्यून संख्यामा सिम कार्ड आयात भएको भए पनि ती आयातको मूल्य विवरण उपलब्ध छैन।
भन्सार विभागका अनुसार सिम कार्ड आयात पछिल्ला वर्षमा निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ।
आर्थिकन्यूज