काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण सुरु गरेको छ। घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई तथ्यमा आधारित बनाउन सबै वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो।
आर्थिक अवस्था कमजोर भएका, सहयोग गर्ने परिवारका सदस्य नभएका, वा परिवारसँगै रहे पनि सबै सदस्य अशक्त रहेका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरदैलोमै स्वास्थ्य परीक्षण र उपचार सेवा दिने लक्ष्यसहित सर्वेक्षण सुरु गरिएको महानगरपालिकाले जनाएको छ। शारीरिक अशक्तता, दीर्घरोग वा हिँडडुल गर्न नसक्ने अवस्थाका कारण नियमित रूपमा स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच र उपचारमा कार्यक्रम केन्द्रित छ।
स्वास्थ्यकर्मी फिल्डमा खटिँदा हौसला प्रदान गर्न तथा ज्येष्ठ नागरिकका आवश्यकता बुझ्न कार्यवाहक प्रमुख सुनिता डंगोल वडा नम्बर ३१ र २७ पुगेकी थिइन्। त्यहाँ उनले अशक्त ज्येष्ठ नागरिक र परिवारसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका चाहना, अपेक्षा र आवश्यकता बुझिन्। त्यसपछि प्रतिक्रिया दिँदै डंगोलले यो कार्यक्रम स्वास्थ्यसँग मात्र होइन, सामाजिक सरोकारसँग पनि जोडिएको विषय भएको बताइन्। आफैँ उपचारका लागि जान नसक्ने अभिभावकसम्म स्वास्थ्यकर्मी पुर्याएर उपचार र परामर्श सेवा दिने लक्ष्य रहेको उनले बताइन्। हाल भइरहेको सर्वेक्षणबाट रोगको अवस्था, प्रयोग भइरहेका औषधि र आवश्यक सहयोगबारे तथ्य संकलन हुने र यसले आगामी वर्षका नीति, योजना तथा कार्यक्रम यथार्थपरक बन्ने उनले बताइन्।
ज्येष्ठ नागरिकको घरमै पुगेका वडाध्यक्ष सरोज ढकाल र योगेश खड्गीले हरेक नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य अवस्था अभिलेख गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए। उनीहरूले वडाभित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य विवरण संकलन गरी कार्यक्रमलाई प्रभावकारी बनाइने स्पष्ट पारे।
फिल्डमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, ग्लुकोज, ज्वरो र पल्स जाँच गर्दै विगतको उपचार, प्रयोग भइरहेका तथा छोडिएका औषधि, खानपान, व्यायाम र दैनिक क्रियाकलापबारे जानकारी संकलन गरिरहेका छन्। आवश्यकताअनुसार तत्काल आधारभूत उपचारका लागि गज, ब्यान्डेज, एन्टिसेफ्टिक सामग्री, प्राथमिक औषधि र आवश्यक मेडिकल उपकरण स्वास्थ्यकर्मीले साथमै बोकेर घरदैलोमा सेवा दिइरहेका छन्।
आर्थिकन्यूज