काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनको कडाइसँगै स्न्यापच्याटले चार लाख १५ हजारभन्दा बढी खाता बन्द गरेको छ। कम्पनीले जनवरीको अन्त्यसम्म साे संख्यामा खाता निलम्बन गरिएको जनाएको छ।
स्न्यापच्याटका अनुसार यो कदम १० डिसेम्बर २०२५ देखि लागू भएको नाबालिग संरक्षणसम्बन्धी कानुनको पालना स्वरूप चालिएको हो। कानुनअनुसार स्न्यापच्याट, मेटा, टिकटक र युट्युबजस्ता प्लेटफर्महरूले १६ वर्षमुनिका प्रयोगकर्ताको पहुँच रोक्नुपर्ने व्यवस्था छ। कानुन उल्लङ्घन गरेमा कम्पनीहरूलाई करिब ४९ करोड ५० लाख अस्ट्रेलियन डलरसम्म जरिवाना हुन सक्नेछ।
अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिनामै विभिन्न प्रविधि कम्पनीहरूले करिब चार लाख ७० हजार खाता ब्लक गरिसकेको जानकारी दिएको थियो। स्न्यापच्याटले भने दैनिक रूपमा थप खाता बन्द भइरहेको जनाएको छ।
यद्यपि, कम्पनीले हाल प्रयोगमा रहेको उमेर प्रमाणीकरण प्रणालीमा कमजोरी रहेको दाबी गरेको छ। स्न्यापच्याटका अनुसार उमेर अनुमान प्रणालीले दुईदेखि तीन वर्षको दायरामा मात्र सही नतिजा दिन सक्ने भएकाले केही नाबालिग प्रयोगकर्ताले प्रणाली छल्न सक्ने र केही वयस्क प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउने जोखिम छ।
यस समस्यालाई समाधान गर्न स्न्यापच्याटले मेटासँग मिलेर अस्ट्रेलियाली निकायलाई एप्लिकेसन स्टोरमै उमेर प्रमाणीकरण अनिवार्य गर्न आग्रह गरेको छ। कम्पनीले यसलाई प्रयोगकर्ता सुरक्षाका लागि ‘थप सुरक्षा उपाय’को रूपमा व्याख्या गरेको छ।
स्न्यापच्याटले पूर्ण प्रतिबन्धलाई उपयुक्त समाधान नमान्दै आफ्नो प्लेटफर्मलाई सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा नराख्नुपर्ने तर्क अघि सारेको छ। कम्पनीका अनुसार स्न्यापच्याट मुख्यतः युवालाई नजिकका साथी र परिवारसँग जोड्ने माध्यम भएकाले पहुँच कटौतीले उनीहरूको सामाजिक र मानसिक सुरक्षामा नकारात्मक असर पर्न सक्छ।
आर्थिकन्यूज