काठमाडौँ। नेपाली बजारमा ‘हट एन्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा बलियो पकड बनाइसकेको ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले राजधानी काठमाडौँमा आफ्नो दोस्रो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। नयाँ शाखा माघ १८ गते, आइतबार कात्यानी चोक, बानेश्वरमा उद्घाटन भएको हो।
भैरहवामा रहेको पहिलो आउटलेटको सफलता र ग्राहक मागलाई ध्यानमा राख्दै कम्पनीले राजधानीमा शाखा विस्तार गरेको हो। उद्घाटन समारोह यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे र नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। कार्यक्रममा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसाल लगायतका कर्मचारी र ग्राहकहरू उपस्थित थिए।
कात्यानी चोकको नयाँ ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरू सहज रूपमा खरीद गर्न सक्नेछन्। मार्टमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, करेन्ट गोल्ड मसाला चिया, सिटिसी चिया र मसला जस्तै जिरा पाउडर, धन्या पाउडर, रातो खुर्सानी पाउडर उपलब्ध हुने कम्पनीले जनाएको छ।
उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भने, “भैरहवाका ग्राहकहरूले देखाएको विश्वासले हामीलाई राजधानीमा सेवा विस्तार गर्न प्रेरित गरेको छ। अब कात्यानी चोकबाटै हाम्रो ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सकिनेछ।”
सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। छोटो समयमै नेपाली उपभोक्ताको मन जितिसकेको कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न स्वादिष्ट नुडल्स उत्पादन गर्दै नेपालभरि र विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै आएको छ।

आर्थिकन्यूज