शीर्षकहरू

पहिलो छ महिनामा ५.७% बढ्यो निक्षेप, कर्जा प्रवाह ३.६% मात्र

पहिलो छ महिनामा ५.७% बढ्यो निक्षेप, कर्जा प्रवाह ३.६% मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले वृद्धि भई ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप ४ खर्ब १७ अर्ब ४८ करोड रुपैयाँले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ३.७ प्रतिशतले मात्र वृद्धि भएको थियो।

वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १४.८ प्रतिशतले बढेको छ। पुस मसान्तसम्म कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९ प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.६ प्रतिशत रहेका थिए।

त्यस्तै, कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.१ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको पुस मसान्तमा ३५.५२ प्रतिशत थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.६ प्रतिशतले वृद्धि भई ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यो अवधिमा कर्जा प्रवाह १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्र कर्जा ५.२ प्रतिशतले वृद्धि भएको थियो। वार्षिक आधारमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ।

पुस मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको अंश ३७.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत थिए।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.७ प्रतिशत, विकास बैंकहरूको २.९ प्रतिशत र वित्त कम्पनीहरूको १.२ प्रतिशतले बढेको छ। कर्जा सुरक्षणको आधारमा हेर्दा कुल कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १५.० प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६३.९ प्रतिशत कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशत र निर्माण क्षेत्रतर्फको कर्जा ७.२ प्रतिशतले बढेको छ। त्यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा, औद्योगिक उत्पादन, वित्त–विमा तथा अचल सम्पत्ति र सेवा उद्योगतर्फको कर्जामा वृद्धि देखिएको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले घटेको छ।

यस अवधिमा मार्जिन प्रकृतिको कर्जा, ट्रष्ट रिसिट (आयात), हायर पर्चेज, क्यास क्रेडिट र रियल स्टेट कर्जामा वृद्धि देखिएको छ भने अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको छ।