काठमाडौं । साउदी अरबले सरकारी कार्यालयमा भ्रष्टाचारमाथि कडा संकेत पठाएको छ। भ्रष्टाचार नियन्त्रण प्राधिकरण (नजाहा) ले घुसखोरी र पदको दुरुपयोगमा संलग्न १२७ जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ।
प्राधिकरणका अनुसार जनवरी महिनाको अन्त्यतिर १ हजार ५४३ अनुगमन र निरीक्षणका क्रममा उनीहरूमाथि कारबाही अघि बढाइएको हो। यस क्रममा विभिन्न सरकारी निकायमा दर्जनौं उजुरी र ठोस प्रमाणहरू फेला परेका थिए।
पक्राउ परेकामध्ये केही कर्मचारीलाई धरौटीमा रिहा गरिएको छ भने बाँकीमाथि कानुनी प्रक्रिया जारी रहेको छ। नजाहाले सरकारी निकायमा पारदर्शिता बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
पक्राउ परेकाहरू रक्षा मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, स्वास्थ्य, आवास तथा नगरपालिका जस्ता प्रमुख विभागमा कार्यरत थिए। प्राधिकरणले सार्वजनिक पद र सरकारी सम्पत्तिको दुरुपयोग गर्ने जोकसैलाई कुनै ढिलाइ नगरी कडा कारबाही गरिने चेतावनी दिएको छ।
आर्थिकन्यूज