एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन्। सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा सीमित गर्नेछ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्ने र रुसबाट तेल खरिद रोक्ने सहमति जनाएको उल्लेख गरेका छन्। यससँगै भारतमाथि लगाइएको अतिरिक्त २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि हटाइनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत सम्झौताप्रति खुशी व्यक्त गर्दै “भारतका १ अर्ब ४० करोड जनताका तर्फबाट राष्ट्रपति ट्रम्पलाई धन्यवाद” भनेका छन्।
ट्रम्पका अनुसार भारतले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब अमेरिकी डलरभन्दा बढीका अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्म भन्सार कर लगाएको थियो। गत साता भारत र युरोपेली संघबीच भएको स्वतन्त्र व्यापार सम्झौतापछि आएको यो सम्झौतालाई ऐतिहासिक मानिएको छ।
आर्थिकन्यूज