शीर्षकहरू

मुलुकको समग्र आर्थिक सूचक सन्तोषजनक : बाह्य क्षेत्र मजबुत भए पनि आन्तरिक अर्थतन्त्रको गति सुस्त

मुलुकको समग्र आर्थिक सूचक सन्तोषजनक : बाह्य क्षेत्र मजबुत भए पनि आन्तरिक अर्थतन्त्रको गति सुस्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कले बाह्य क्षेत्रका अधिकांश सूचक मजबुत देखिए पनि आन्तरिक आर्थिक गतिविधि अझै अपेक्षित गतिमा अघि बढ्न नसकेको संकेत गरेको छ ।

मुद्रास्फीति न्यून तहमा सीमित रहनु, विदेशी विनिमय सञ्चिति उच्च रहनु तथा विप्रेषण आप्रवाह उल्लेख्य बढ्नु सकारात्मक पक्ष भए पनि निजी क्षेत्रको कर्जा विस्तार, लगानी र उपभोगमा भने सुस्तता कायमै रहेको देखिन्छ ।

पछिल्ला वर्षहरूमा महँगी, बाह्य भुक्तानी सन्तुलन र तरलताका चुनौती भोग्दै आएको नेपाली अर्थतन्त्र चालु आर्थिक वर्षको मध्यसम्म आइपुग्दा अपेक्षाकृत स्थिर दिशातर्फ अघि बढेको देखिन्छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको विवरणले मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको देखाउँछ, जुन पछिल्ला वर्षहरूको तुलनामा निकै सहज स्तर हो। यसले उपभोग्य वस्तुको मूल्य दबाब कम भएको र मौद्रिक व्यवस्थापन प्रभावकारी रहेको संकेत गर्छ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ। यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो। यस्तो सञ्चिति करिब १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ।

विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले बढेको छ भने आयात १४.२ प्रतिशतले वृद्धि भएको छ। यसैबीच, नेपाल सरकारको कूल खर्च ६९० अर्ब २२ करोड रुपैयाँ र राजस्व परिचालन ५७७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

विदेशी विनिमय सञ्चिति १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने स्तरमा पुग्नु बाह्य क्षेत्रका लागि सबैभन्दा सकारात्मक सूचक हो। आयात वृद्धिदर सीमित रहँदा निर्यात ४३ प्रतिशतभन्दा बढीले बढ्नु र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा वृद्धि हुनुले शोधनान्तर तथा चालु खाता दुबैलाई बचतमा राखेको छ। यसले निकट भविष्यमै बाह्य दबाब बढ्ने जोखिम कम भएको देखाउँछ।

समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। चालु आवको पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ।

यद्यपि भित्री अर्थतन्त्रको गति अझै अपेक्षित स्तरमा पुगेको देखिँदैन। निजी क्षेत्रमा कर्जा प्रवाहको वृद्धिदर कमजोर रहनु उद्योग, व्यापार र लगानी गतिविधि पूर्ण रूपमा चलायमान हुन नसकेको संकेत हो। निक्षेप बढिरहे पनि कर्जा विस्तार सुस्त रहनुले बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि लगानीको माग कमजोर रहेको स्पष्ट हुन्छ।

मौद्रिक सूचकतर्फ विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा १४.२ प्रतिशतको वृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेप वृद्धिदर १४.८ प्रतिशत र कर्जा वृद्धिदर ६.७ प्रतिशत रहेको छ।

राजस्व परिचालन सरकारको लक्ष्यअनुसार अघि नबढ्नु र खर्चको गति अपेक्षाकृत तीव्र रहनुले सार्वजनिक वित्त व्यवस्थापनमा अझै दबाब कायम रहेको देखाउँछ। ब्याजदर न्यून स्तरमा झरेको वर्तमान अवस्थामा निजी क्षेत्रलाई लगानीतर्फ आकर्षित गर्ने नीतिगत पहल प्रभावकारी हुन सके समग्र आर्थिक गतिविधिमा गति थपिन सक्छ।

समग्रमा हेर्दा, बाह्य क्षेत्र सुदृढ, महँगी नियन्त्रणमा र वित्तीय प्रणाली स्थिर देखिए पनि उत्पादन, लगानी र रोजगारी सिर्जनाको पक्ष सबल बन्न नसकेसम्म अर्थतन्त्र पूर्णरूपमा सबल बनेको भन्न सकिँदैन। अहिलेको सन्तोषजनक अवस्थालाई दिगो वृद्धिमा रूपान्तरण गर्न संरचनात्मक सुधार र निजी क्षेत्रमैत्री नीतिमा जोड दिनु चुनौती र अवसर दुवै हो।