काठमाडौँ। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उनलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। शर्माको नियुक्ति आजैदेखि लागू हुने बैंकले जनाएको छ।
नवनियुक्त सीईओ शर्माको नियुक्ति तब भएको हो जब बैंकको निवर्तमान सीईओ अशोक शेरचनले राजीनामा दिएका थिए। शेरचनको राजीनामा स्वीकृत भएपछि बैंकले गत मंसिर १४ देखि निरज लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो। लामो समय रिक्त रहेको सीईओ पद अब शर्मा नेतृत्वमा स्थायी भएको छ।
सुमन शर्मा बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका अनुभवी बैंकर हुन्। उनले माछापुच्छ्रे बैंक र तत्कालीन सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गरिसकेका छन्। यसका साथै उनले ग्लोबल आइएमई बैंक, एनएमबी बैंक लगायतमा उच्च व्यवस्थापन तहमा काम गरिसकेका छन्। शर्मा बैंकिङ क्षेत्रमा लामो समय अनुभव भएकाले प्रभु बैंकको नेतृत्व अझ मजबुत हुने बैंकका जानकारहरूले अनुमान गरेका छन्।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन्। बैंकिङ क्षेत्रमा प्रवेश गर्नु अघि उनी फिजिक्स अध्ययनमा संलग्न थिए। त्यसपछि उनी व्यवस्थापनतर्फ पनि मास्टर्स गरेका छन्। हाल उनी काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ फ्याकल्टीका रूपमा एमबिए विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका छन्।
शर्माले १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जरमा गएपछि उनी केही समय बैंकिङ क्षेत्रबाट टाढा रहँदा प्राध्यापन पेसामा आबद्ध भएका थिए। बैंकिङ क्षेत्रमा फर्केपछि उनले उच्च व्यवस्थापन तहमा काम गर्दै विभिन्न बैंकको नेतृत्वको अनुभव हासिल गरेका छन्।
प्रभु बैंकका सञ्चालक समितिका सदस्यहरूले शर्मालाई अनुभवी, कुशल र विश्वासिलो बैंकर भएको टिप्पणी गरेका छन्। बैंकिङ क्षेत्रमा देखिएको चुनौतीपूर्ण वातावरणमा शर्मा नेतृत्वमा प्रभु बैंकले व्यवसाय विस्तार, लगानी प्रवाह, र वित्तीय व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
शर्माको अनुभव र नेतृत्व क्षमताले बैंकलाई वृद्धि र स्थायित्वको मार्गमा अघि बढाउनेछ। बैंकले आगामी चार वर्षमा वित्तीय उत्पादन, डिजिटल बैंकिङ, र ग्राहक सेवामा सुधार ल्याउने योजनासहित उनलाई सीईओ नियुक्त गरेको बताइएको छ।
आर्थिकन्यूज