शीर्षकहरू

यी ७ कारणले ग्यासको अभाव श्रृजना भयो

यी ७ कारणले ग्यासको अभाव श्रृजना भयो

काठमाडौं । गत सातादेखि नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव रहेको हल्ला चलेसँगै यसबारे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चासो देखाएको छ । बजारमा ग्यासको अभाव रहेको, ग्यास नपाएको उजुरी परेपछि विभागले अनुगमन गरेको थियो । अनुगमनबाट विभिन्न ७ कारणले अभाव श्रृजना भएको विभागको दाबी छ ।

विभागले अनुगमनका क्रममा ग्यास उद्योगहरूमा ग्यास नै नरहेको पाइएको सूचना अधिकारी नरहरी तिवारीले बताएका छन् । नेपाल ग्यास समेत उद्योगमा स्टक आउट भइसकेको उनको भनाई छ । 

उनले भने, 'नेपाल ग्यास समेत स्टक आउट भइसकेको अवस्था छ । यसलाई अभाव नै भन्नुपर्छ ।’ 

पहिलो कारण 

जाडोको सिजनमा भारतमा नै ग्यासको माग वृद्धि हुनु हो । भारतमा ग्यासको खपत बढ्दा नेपाललाई दिने कोटा भारतले घटाइदिएका कारण नेपालमा ग्यासको सटेज देखिएको अनुगमनबाट पत्ता लागेको सूचना अधिकारी तिवारीले जानकारी दिए । 

दोस्रो कारण

यसैगरी, भारतले पहिलो प्राथमिकता आफ्नो देशलाई दिएकाले नेपालका आयातकर्ताहरूले मागे भन्दा कम ग्यास पठाएका कारणले अभाव श्रृजना भएको हो । 

तेस्रो कारण 

नेपालमा ग्यास आयात गर्ने आयातकर्ताको संख्या सीमित हुँदा नेपालको माग अनुसार आयात गर्न नसकेको विभागको दाबी छ । हाल नेपालमा ५९ उद्योगले ग्यासको आयात गर्ने अनुमति पाएका छन् । त्यसमध्ये सबैभन्दा धेरै नेपाल ग्यास उद्योग, कोशी ग्यास उद्योगले आयात गर्छ । नेपाल ग्यास उद्योग र कोशी ग्यास उद्योगले महिनामा ६ हजार मेट्रिक टनभन्दा धेरै ग्यास आयत गर्दछन् ।

चौथो कारण

विगतका केही वर्षदेखि नेपालमा भारतबाट ग्यास पाइप लाइनमार्फत नै ल्याउने विषय चर्चामा छ । यसबारे भारत र नेपालबीच पटक पटक छलफल भइसकेको छ । तर, डीपीआर भने तयार भएको छैन । यसले गर्दा नेपालमा हाल ग्यास आयात गरिरहेका आयातकर्ताले नयाँ बुलेट खरिद गरेका छैनन् । यसले गर्दा उनीहरुले विगतमा जतिवटा बुलेटबाट आयात गरेका थिए सोही बुलेटबाट नै आयात गरिरहेका छन् । यता बजारको माग वर्षेनी बढ्दै जाँदा आयातकर्ताले भने ग्यास आयात गर्ने बुलेट थप गरेका छैनन् । सोही कारणले पनि आपूर्तिमा असहज भएको विभागको दाबी छ । 

पाँचौ कारण  

नेपालमा मासिक रुपमा औसतमा ४५ हजार मेट्रिक टन ग्यास खपत हुन्छ । सोही अनुसार नेपालमा ग्यास आयात गर्दै आएको थियो । तर, जाडोको सिजनमा यो परिणामले माग धान्न सक्दैन । जाडोमा आपूर्तिभन्दा माग बढी भएकाले अभाव उत्पन्न भएको हो । 

छैटौँ कारण 

बजारमा ग्यास अभाव रहेको, ग्यास नपाइने हल्ला चलेपछि उपभोक्ताले ग्यास स्टक राख्न थालको अनुगमनबाट पत्ता लागेको विभागका सूचना अधिकारी तिवारीको भनाई छ । यसले गर्दा पनि अभाव श्रृजना भएको हो ।

सातौं कारण

नेपाल आयल निगमले नेपालको आवश्यकता अनुसार तथा बजारको माग अनुसार आपूर्ति सहजीकरणका लागि भारतसँग ग्यास आयातको कोटा थप गर्न चुकेका कारण पनि ग्यासको अभाव भएको हो । 

के भन्छ आयल निगम

भारतका केही रिफाइनरीमा समस्या आएका कारण गत साता नेपालमा माग अनुसार ग्यास आयात नभएको निगमको भनाई छ । तर, त्यो समस्या समाधान भइसको र गत साता आउन बाँकी रहेको ग्यास पनि हाल निरन्तर आइरहेकाले बजारमा अभाव नरहेको दाबी निगमको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले चुनावलाई लक्षित गरेर थप २ हजार मेट्रिक टन ग्यास आयातका लागि भारतसँग सम्झौता भइसकेको र सोही अनुसार नेपालका आयात कर्तालाई पठाइ सकिएको जनाएको छ ।