काठमाडौं । पछिल्लो समयमा शेयर बजारमा मध्यम र साना स्तरका लगानीकर्ताहरूको सक्रियता बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार ५० लाखदेखि १ करोड तथा २५ लाखदेखि ५० लाख रुपैयाँसम्मका शेयर धितो कर्जामा सबैभन्दा बढी वृद्धिदर देखिएको छ। यसले बजारमा मध्यम र साना स्तरका लगानीकर्ताको सहभागिता बढिरहेको पुष्टि गर्छ।
बजारमा तरलताको सहज उपलब्धता र बैंकहरूको ब्याजदर एकल अंकमा झरेपछि लगानीकर्ताले बैंकमार्फत कर्जा लिएर शेयरमा लगानी गर्ने रणनीति अपनाएका छन्। मध्यम स्तरका लगानीकर्ताको सक्रियता बढे पनि ठूला लगानीकर्ताको पकड अझै बलियो देखिन्छ ।
तथ्यांक अनुसार, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १२.८ प्रतिशतले, २५–५० लाख रुपैयाँसम्मको कर्जा १०.३ प्रतिशतले र २५ लाख रुपैयाँभन्दा कम कर्जा ७.९ प्रतिशतले वृद्धि भएको छ । ठूला लगानीकर्ताले लिने १ करोड रुपैयाँभन्दा माथिको कर्जा भने ७.३ प्रतिशतले बढेको छ। यसले मध्यम र साना लगानीकर्ताको सहभागिता बढ्दै गएको स्पष्ट देखाउँछ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ६ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने यस्तो कर्जाको कुल आकार पुस मसान्तसम्म १ खर्ब ५२ अर्ब ४० करोड ३३ लाख रुपैयाँ पुगेको छ। यो रकम असार मसान्तको तुलनामा ८.३ प्रतिशत बढी हो।
पुस मसान्तसम्मको विवरणमा पछिल्लो ६ महिनामा मात्र शेयर धितो कर्जा ११ अर्ब ७० करोड १२ लाख रुपैयाँले बढेको देखिन्छ । यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा यस्तो कर्जाको वृद्धिदर २६.३ प्रतिशत थियो। यस वर्ष वृद्धिदर केही सुस्त देखिए पनि कुल कर्जाको परिमाण विगतको तुलनामा अझै उच्च रहेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत शेयर धितो कर्जाको सीमामा लचिलोपन दिएको र बैंकहरुले पनि शेयर कर्जालाई सुरक्षित लगानीको रुपमा प्राथमिकता दिएकोले यो वृद्धि सम्भव भएको हो। दोस्रो बजारमा कारोबार रकम बढ्नमा पनि यो कर्जा प्रवाहले महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरुको भनाइ छ ।
बजारमा तरलताको सहज उपलब्धता र बैंकहरूको ब्याजदर एकल अंकमा झर्दै गएपछि लगानीकर्ताहरुले शेयर धितोमा कर्जा लिएर लगानी गर्ने रणनीतिलाई प्राथमिकता दिएको देखिन्छ। यसले बजारमा कारोबार रकम (टर्नओभर) बढाउन र समग्र बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। तर, शेयर कर्जा बढेको अनुपातमा बजारको वृद्धि भने अपेक्षित हुन सकेको छैन् ।
साना तथा मध्यमस्तरका लगानीकर्ता शेयर बजारमा आर्कर्षीत हुँदै गएको संकेत देखिएपनि शेयर बजारमा ठूला लगानीकर्ताहरूको पकड अझै बलियो छ । राष्ट्र बैंकले कर्जाको सीमा अनुसार गरेको वर्गीकरणमा १ करोड रुपैयाँ (१० मिलियन) भन्दा माथिको कर्जा सबैभन्दा उच्च देखिन्छ । पुस मसान्तसम्ममा १ करोडभन्दा माथिको शेयर धितो कर्जा मात्र १ खर्ब ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ पुगेको छ। यो कुल मार्जिन कर्जाको झन्डै ७० प्रतिशतभन्दा बढी हो। यस वर्गमा पछिल्लो ६ महिनामा ७.३ प्रतिशत अर्थात् ७ अर्ब १८ करोड ७२ लाख रुपैयाँ थप लगानी भएको छ।
मध्यम स्तरका लगानीकर्ताहरूको सक्रियता पनि उत्साहजनक छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा प्रवाह पछिल्लो ६ महिनामा १२.८ प्रतिशत बढेर १८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो महिनाको तुलनामा यसमा २ अर्ब ४ करोड ९३ लाख रुपैयाँ थपिएको छ। प्रतिशतका आधारमा यो वृद्धिदर सबै वर्गभन्दा बढी हो।
२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा प्रवाहमा पनि १०.३ प्रतिशत वृद्धि देखिएको छ। पुस मसान्तसम्म यस वर्गमा १९ अर्ब ३८ करोड २० लाख रुपैयाँ ऋण लगानी भएको छ। अघिल्लो छ महिनामा यसमा १ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ वृद्धि भएको छ। साना र मझौला लगानीकर्ताहरूले यस सीमाभित्र रहँदै बजारमा आफ्नो सहभागिता बढाएका छन्।
साना लगानीकर्ताहरूले लिने २५ लाख रुपैयाँभन्दा कमको कर्जा ८ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यसमा ७.९ प्रतिशत सुधार देखिएको छ। साना लगानीकर्ताहरूको ऋण लिने दर अन्य वर्गभन्दा केही कम भए पनि निरन्तर वृद्धिले बजारमा सर्वसाधारणको पहुँच बढेको पुष्टि गर्छ।
पछिल्लो ६ महिनाको तथ्यांकले शेयर बजारमा तरलताको अभाव नरहेको र लगानीकर्ताहरु बैंकबाट ऋण लिएर लगानी गर्न इच्छुक रहेको देखाएको छ। बैंकहरुको ब्याजदर अझै घट्ने अपेक्षा र बजारको प्राविधिक सुधारले आगामी दिनमा शेयर धितो कर्जाको माग अझै बढ्न सक्ने अनुमान गर्न सकिन्छ। तर, कर्जाको ठूला हिस्साले ठूला लगानीकर्तामा केन्द्रित भएर साना लगानीकर्ताले जोखिम भोग्नुपर्ने सम्भावना रहिरहने विज्ञहरुले सचेत गराएका छन्।
आर्थिकन्यूज