काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। सोमबार १.५३ अंकले बढेको नेप्से परिसूचक आज १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा रोकिएको छ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको देखिएको छ। मंगलबार ३२२ कम्पनीका १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ९२ हजार ३३८ पटक किनबेच हुँदा कुल ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कुल १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह सामान्य रूपमा बढेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ।
यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयर सकारात्मक सर्किटमा ८१ रुपैयाँ बढेर ८९१ रुपैयाँमा पुगेको छ। एचएलआई लार्ज क्याप फण्डको इकाई मूल्य करिब १० प्रतिशत बढेको छ भने मेगाल म्युचुअल फण्ड १ को इकाई मूल्य ५.५ प्रतिशतभन्दा बढी र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको सान्भि इनर्जी र पियोर इनर्जीको शेयर मूल्य भने साढे ४ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ, जसको ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँ र यूनियन हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
आर्थिकन्यूज