पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने ‘ट्रान्जिसनिङ टु द एज अफ आर्टिफिसियल इण्टेलिजेन्स’ तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम पोखराको होटल ग्राण्ड पोखरामा सम्पन्न भएको थियो।
कार्यक्रममा कम्पनी अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली र विभागीय प्रमुखहरू सहित देशभरका शाखा तथा केन्द्रीय कार्यालयका कुल २७० कर्मचारीहरूले सहभागिता जनाएका थिए।
कम्पनी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्दै बीमा व्यवसायमा प्रविधिको प्रयोग बढाउन एआई तालिमले योगदान पुग्ने आशय व्यक्त गरिन्। कार्यक्रममा बेस्ट इम्प्लोइ अवार्ड–२०८२ का सात कर्मचारीहरू नगद पुरस्कार र सम्मानपत्रसहित सम्मानित भए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्यमा कर्मचारीहरूलाई डाटा विश्लेषण र ग्राहक सेवा प्रणालीजस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाह गुणस्तरीय बनाउन एआई तालिमको महत्वबारे जानकारी दिए। साथै, सम्पत्ति शुद्धिकरणसम्बन्धी तालिमसमेत सञ्चालन गरिएको जानकारी दिए।
नेपाल बीमा प्राधिकरणका उप–निर्देशक पदम प्रसाद सोडारीले बीमा माध्यमबाट हुने अवैध वित्तीय गतिविधिबाट सचेत रहन आग्रह गर्दै, राष्ट्रिय हितमा वित्तीय निगरानीको महत्वबारे प्रशिक्षण दिए।
कार्यक्रममा आर्ट अफ लिभिङका डा. डोन्जन लामिछानेले योगा प्रशिक्षण पनि प्रदान गरे, जसले कर्मचारीहरूको मानसिक र शारिरीक स्वास्थ्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिम अवधिमा सञ्चालन भएको परिक्षामा उत्कृष्ट नतिजा हासिल गरेका कर्मचारीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। प्रदेशस्तरिय फुटसल प्रतियोगितामा विजयी लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र केन्द्रीय कार्यालयका खेलाडीहरू पनि पुरस्कृत भए।
कम्पनीका उप–कार्यकारी प्रमुख स्मृति राज कँडेलले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रम नियमित सञ्चालन गरी कर्मचारीहरूको सीप, दक्षता र सेवा गुणस्तर अभिवृद्धि गरिने जानकारी दिए।
आर्थिकन्यूज