शीर्षकहरू

अर्थमन्त्री खनालद्वारा गोरखामा निर्वाचन तयारीको स्थलगत अनुगमन

अर्थमन्त्री खनालद्वारा गोरखामा निर्वाचन तयारीको स्थलगत अनुगमन

काठमाडौं। अर्थमन्त्री डा. रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे गोरखा जिल्लामा स्थलगत अनुगमन गरेका छन् । मंगलबार गोरखा पुगेका उनले जिल्ला प्रशासन कार्यालय तथा निर्वाचनसम्बन्धी निकायसँग छलफल गर्दै निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन सुरक्षाको अवस्था, मतदान केन्द्रहरूको संवेदनशीलता र हालसम्मको तयारीबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए । सो क्रममा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गोरखामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै पनि उजुरी नपरेको जानकारी दिए ।

उनका अनुसार जिल्लाका दुई मतदान केन्द्रमा मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था रहेको छ भने ८३ वटा मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रूपमा वर्गीकरण गरिएको छ ।

अनुगमनकै क्रममा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी निर्वाचन व्यवस्थापनको तयारीबारे जानकारी लिएका थिए । मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतम, निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मोहन वेल्वासे र जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले हालसम्मको तयारी र अवस्था बारे अर्थमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

स्थलगत अनुगमनपछि अर्थमन्त्री खनालले गोरखामा निर्वाचनको तयारी सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताउँदै स्थानीय तहमा राजनीतिक दलहरूबीच स्वच्छ, शान्तिपूर्ण र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भइरहेको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।