काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र भिसाको सहकार्यमा नेपालमा साइबर सुरक्षाको सुदृढीकरण विषयमा राष्ट्रियस्तरीय कार्यशाला सम्पन्न भएको छ । ‘नेपालमा साइबर सुरक्षा प्रतिरोध क्षमता सुदृढीकरण’ शीर्षकको कार्यशाला यही माघ १४ गते काठमाडौंमा आयोजना गरिएको हो ।
डिजिटल वित्तीय प्रणाली तीव्र गतिमा विस्तार भइरहेका बेला साइबर जोखिम न्यूनीकरण र संस्थागत तयारी सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सरकार, नियामक निकाय, सुरक्षा एजेन्सी, बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय विकास साझेदारका उच्च तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यशालाको उद्घाटन सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनाको साइबर सुरक्षा निर्देशनालय, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यसले डिजिटल अर्थतन्त्रको सुरक्षा सुनिश्चित गर्न सबै निकायबीच साझा प्रतिबद्धता रहेको सन्देश दिएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल वित्तीय प्रणालीको दिगो विकासका लागि साइबर जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । उनले बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिसँगै सुरक्षा संरचनालाई पनि समान रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिए ।
कार्यशालामा दुई प्राविधिक प्रस्तुति प्रस्तुत गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले ‘नेपालको सन्दर्भमा साइबर माध्यमबाट हुने ठगी र अपराधका उदीयमान प्रवृत्ति’ विषयमा प्रस्तुति दिँदै विद्यमान खतरा र कानुनी चुनौतीबारे जानकारी गराएको थियो । त्यस्तै, भिसाले ‘सुरक्षित डिजिटल भविष्यको निर्माण’ शीर्षकमा अन्तर्राष्ट्रिय अभ्यास, प्रविधि र सहकार्यका उपायबारे प्रस्तुति दिएको थियो ।
‘समन्वित राष्ट्रिय साइबर सुरक्षा प्रणाली निर्माण : भूमिका, जिम्मेवारी र आगामी बाटो’ विषयक उच्चस्तरीय प्यानल छलफलमा बैंकिङ क्षेत्र, नियामक निकाय र साइबर सुरक्षा विज्ञहरूले अन्तर–एजेन्सी समन्वय, क्षमता विकास र सार्वजनिक–निजी साझेदारी बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
समापन सत्रमा भिसा इन्डिया तथा दक्षिण एसियाका उपाध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत वैभव तराणेकरले सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै नेपालका सातै प्रदेशमा विशेष साइबर सुरक्षा तालिम सञ्चालन गरिने नयाँ क्षमता विकास पहलको घोषणा गरे ।
डिजिटल कारोबारसँगै बढ्दो साइबर जोखिमको सन्दर्भमा आयोजित उक्त कार्यशालाले ज्ञान आदान–प्रदान, नीति संवाद र सहकार्यको साझा मञ्च प्रदान गरेको एनबीएले जनाएको छ ।
आर्थिकन्यूज