काठमाडौँ। प्रादेशिक अस्पताल सिरहामा करारका कर्मचारीसँग मिलेमतो गरी सेवाशुल्क संकलनमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
अस्पतालका बिलिङ काउन्टरमा कार्यरत कर्मचारीहरूले ओपीडी लगायतका महत्वपूर्ण नगद संकलन काउन्टरमा बसेर दैनिक संकलित राजस्व रकम राजस्व खातामा जम्मा नगरी लामो समयदेखि दुरुपयोग गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा प्रादेशिक अस्पताल सिरहामा रहेका आठवटा बिलिङ काउन्टरबाट सेवाशुल्क संकलन तथा असुलीका लागि सफ्टवेयर र बिलिङ प्रणाली प्रयोगमा ल्याइएको देखिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा अस्पतालले संकलन गरेको सेवाशुल्कमध्ये ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसा जम्मा हुनुपर्नेमा अभिलेखअनुसार ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको पाइएको छ। बाँकी ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा हालसम्म दाखिला नगरी हिनामिना तथा दुरुपयोग गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा समेत कैफियतका रूपमा उल्लेख छ।
अनुसन्धान अनुसार बिलिङ काउन्टरमा कार्यरत अहेब श्यामकुमार मण्डलले सफ्टवेयर अभिलेखअनुसार ७० लाख ३७ हजार ३४७ रुपैयाँ १ पैसा आम्दानी गरेको देखिए पनि बैंक भौचरअनुसार ४४ लाख ८९ हजार ९३० रुपैयाँ मात्र दाखिला गरी २५ लाख ४७ हजार ४१७ रुपैयाँ १ पैसा नजम्मा गरेको आरोप छ।
यस्तै, स.क.अ. रोशनकुमार यादवले १ लाख ६४ हजार ६५९ रुपैयाँ ६८ पैसा, स.क.अ. सरस्वतीकुमारी यादवले ५ लाख २ हजार ८१३ रुपैयाँ ७४ पैसा, स.क.अ. अजयकुमार मण्डलले ३ लाख ७९ हजार २१ रुपैयाँ ४ पैसा र स.क.अ. पूजा कुमारी यादवले २ लाख ८८ हजार २२९ रुपैयाँ ४० पैसा दाखिला नगरेको देखिएको छ।
अनुसन्धानमा तत्कालीन प्रमुख डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवले समेत बिलिङ सफ्टवेयरमार्फत कुन कर्मचारीले कति रकम संकलन गरेको हो भन्ने जानकारी पाउन सक्ने अधिकार हुँदाहुँदै पनि बदनियत राखी अभिलेखअनुसारको रकम र बैंक भौचरबीचको असमानता थाहा पाएर पनि बेवास्ता गरेको आरोप लगाइएको छ।
यसरी प्रतिवादीहरूले आपसी मिलेमतो र पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्ति ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा हिनामिना गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।
आर्थिकन्यूज