शीर्षकहरू

बुधबारदेखि आसन्न निर्वाचनका लागि चारै सुरक्षा निकाय परिचालित

बुधबारदेखि आसन्न निर्वाचनका लागि चारै सुरक्षा निकाय परिचालित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ लागू गर्दै बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारै सुरक्षा निकाय परिचालन गरेको छ।

निर्वाचन आउन एक महिना बाँकी रहँदा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालित भएका हुन्। यस योजनाअनुसार भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिनेछन्।

मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। बाहिरी सुरक्षा घेरामा नेपाली सेना रहनेछ। सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

निर्वाचनपूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थल तथा मतगणनास्थलको सुरक्षा सेनाले गर्नेछ। विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले सम्हाल्नेछ।

यसपटक ३,४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। कुल १ करोड ८९ लाखभन्दा बढी मतदाता कायम भएका छन्। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।

सुरक्षा वर्गीकरणअनुसार २,८४५ मतदानस्थल सामान्य, ४,४४२ संवेदनशील र ३,६८० अति संवेदनशील मानिएका छन्। नेपाल प्रहरीका ७७ हजार जनशक्ति र १ लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ परिचालित हुनेछन्।

सशस्त्र प्रहरीतर्फ ४९ हजार ६८६ जनशक्ति खटिनेछ। उच्च सतर्कता अपनाउँदै कुनै पनि अप्रिय घटना भए १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।