काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १४.६३ प्रतिशत र कुल आम्दानी १०.०३ प्रतिशतले बढेको छ। यस्तै, कुल दाबी भुक्तानी ११.३४ प्रतिशत तथा कुल खर्च १०.७४ प्रतिशतले वृद्धि भएको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य रूपमा बढेको छ। पुस मसान्तसम्म प्रतिशेयर आम्दानी २३ पैसा वृद्धि भई ८ रुपैयाँ ६ पैसा पुगेको छ। सोही अवधिमा प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ५५.६९ गुणा कायम छ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्समा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ।
आर्थिकन्यूज