शीर्षकहरू

अधिक तरलता तान्न राष्ट्र बैंकले ६३ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप उठाउने

अधिक तरलता तान्न राष्ट्र बैंकले ६३ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप उठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ६३ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै २० अर्ब रुपैयाँ उठाउने भएको छ। केन्द्रीय बैंकले मंगलबार बोलकबोल प्रक्रियामार्फत उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल अनलाइन प्रणालीमार्फत हुनेछ। बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ भने सावाँ तथा ब्याज भुक्तानी २०८२ चैत २५ गते गरिनेछ।

निक्षेप संकलनमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्। बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः बढी ब्याजदरका बोलहरू स्वीकार गर्दै आह्वान गरिएको रकम पूरा गरिनेछ। यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

हाल बैंकिङ प्रणालीमा कुल निक्षेप करिब ७७ खर्ब रुपैयाँ छ। दीर्घकालीन प्रकृतिको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा र ऋणपत्रजस्ता खुला बजार उपकरण प्रयोग गर्दै आएको छ।

केन्द्रीय बैंकले पछिल्ला दुई सातामा मात्रै नौवटा ऋणपत्र जारी गर्दै करिब २ खर्ब रुपैयाँ बजारबाट तानेको थियो। ती ऋणपत्र एक वर्ष अवधिका थिए। ऋणपत्र जारी केही समयका लागि रोकिएपछि राष्ट्र बैंकले  निक्षेप संकलन उपकरण प्रयोग गरी २० अर्ब रुपैयाँ तान्न लागेको हो।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन अधिक तरलता देखिएमा बढीमा ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा नियमित रूपमा यस्तो उपकरण प्रयोग गर्दै आएको छ।