काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलको समर्थनमा विभिन्न जातीय संस्थाहरू एकजुट भएका छन्।
ललितपुर पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर प्राङ्गण, मंगलबजारमा आज साँझ आयोजित संयुक्त कार्यक्रममा प्यंगु दँ मंका समाज अन्तर्गतका बाराही समाज, राजकर्णिकार समाज, शिल्पकार समाज, सिकःमी समाज तथा नापं ताम्रकार समाजले खरेलप्रति आफ्नो स्पष्ट समर्थन जनाउँदै विजयीको शुभकामना व्यक्त गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै बाराही समाजका अध्यक्ष विष्णु बाराही, राजकर्णिकार समाजका अध्यक्ष किरण राजकर्णिकार, शिल्पकार समाजका अध्यक्ष धर्मरत्न शिल्पकार, सिकःमी समाजका अध्यक्ष विष्णु सिकःमी तथा नापं ताम्रकार समाजका अध्यक्ष विनोद ताम्राकारले परिवर्तनका लागि नयाँ सोच, ऊर्जा र दृष्टिकोण बोकेको नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे। उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खरेललाई त्यस्तो नेतृत्वका रूपमा उपयुक्त ठानेर साथ र समर्थन दिएको बताए।
पछिल्ला केही दिनदेखि चुनावी घरदैलो तथा भेटघाट कार्यक्रमहरूमा व्यस्त रहेका खरेलको पक्षमा ललितपुर–२ मा जनसहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी नेवारी समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा जातीय संस्थाहरू नै खरेलको समर्थनमा उभिँदा उनको पक्षमा जनलहर थप मजबुत बन्दै गएको देखिएको छ।
आर्थिकन्यूज