काठमाडौं । नेपालको धितोपत्रको दोस्रो बजारमा नियमित कारोबार गर्ने लगानीकर्ताको संख्या २७ लाख पुगेको छ भने डिम्याट खाताको कुल संख्या ७२ लाखभन्दा माथि रहेको छ । अनलाइन कारोबार प्रणाली ‘टीएमएस’ र ‘मेरो सेयर’को प्रयोग विस्तार हुँदै जाँदा सेयर बजारमा लगानीकर्ताको सहभागिता पछिल्ला वर्षहरुमा उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचना प्रतिवेदन, २०८२ अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांकले धितोपत्र बजारमा प्रविधिमार्फत हुने सहभागिता उल्लेख्य रुपमा विस्तार भएको देखाएको हो।
अनलाइन प्रणाली ‘टीएमएस’ प्रयोग गर्ने लगानीकर्तामध्ये २७ लाख २० हजारभन्दा बढी सक्रिय देखिएपछि सेयर बजारमा कारोबारको चहलपहल बढ्दै गएको संकेत देखिएको छ । कुल ४५ लाखभन्दा बढी टीएमएस प्रयोगकर्तामध्ये ठूलो हिस्सा नियमित रुपमा सक्रिय रहनुले दोस्रो बजारमा लगानीकर्ताको उपस्थिती थप मजबुत बन्दै गएको छ।
धितोपत्रको अभिलेखीकरण, राफसाफ तथा फछ्र्यौट कार्यका लागि नेपाल स्टक एक्सचेञ्जको सहायक कम्पनीको रुपमा स्थापना भएको सीडीएससी हाल पूर्ण रुपमा सञ्चालनमा रहेको छ । सीडीएससीका अनुसार बजार सहभागिताको अवस्थालाई विश्लेषण गर्दा आर्थिक वर्ष २०८२ मंसिर मसान्तसम्म डिम्याट खाताको संख्या ७२ लाख ३९ हजार ७ सय ५२ पुगेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
डिम्याट खाताको वृद्धिदर हेर्दा पछिल्ला पाँच वर्षमा उल्लेखनीय प्रगति देखिन्छ। आर्थिक वर्ष २०८१ असार मसान्तमा ६३ लाख ११ हजार १ सय ७६ रहेको डिम्याट खाता संख्या २०८२ असार मसान्तसम्म ९.३० प्रतिशतले वृद्धि भई ६८ लाख ९७ हजार ९ सय ७५ पुगेको थियो। त्यसपछि ५ महिनामै बढेर मंसिर मसान्तसम्म ७२ लाख नाघेको हो।
त्यसैगरी सीडीएससीले विकास गरेको ‘मेरो सेयर’ प्रणाली प्रयोग गर्ने लगानीकर्ताको संख्या पनि तीव्र रूपमा बढेको छ। मंसिर २०८२ सम्म ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ६३ लाख १५ हजार ५ सय ६३ पुगेको छ। प्राथमिक तथा दोस्रो बजार कारोबारमा प्रयोग हुने सफ्टवेयरमार्फत लगानीकर्ताको पहुँच बढेसँगै डिजिटल कारोबारप्रति आकर्षण बढेको देखिन्छ।
त्यस्तै ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि आर्थिक वर्ष २०८१ असार मसान्तमा ५३ लाख ६७ हजार ४२ रहेकोमा २०८२ असार मसान्तसम्म ११.३० प्रतिशतले वृद्धि भई ५९ लाख ७३ हजार ४ सय ५६ पुगेको थियो। सोही संख्या मंसिर २०८२ सम्म बढेर ६३ लाख १५ हजारभन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख छ।
दोस्रो बजार कारोबारका लागि धितोपत्र दलालमार्फत प्रयोग गरिने अनलाइन कारोबार प्रणाली ‘टीएमएस’ सञ्चालन गर्ने लगानीकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। मंसिर २०८२ सम्म टीएमएस प्रयोगकर्ताको संख्या ४५ लाख ३ हजार ९९ पुगेको छ । तीमध्ये हाल सक्रिय प्रयोगकर्ताको संख्या २७ लाख २० हजार ८ सय १९ रहेको छ, जसले बजारमा सक्रिय कारोबारकर्ताको उपस्थिति मजबुत हुँदै गएको संकेत गर्दछ।
संस्थागत सहभागितातर्फ हेर्दा मंसिर २०८२ सम्म नेप्सेमा २८५ संगठित संस्थाहरू सूचीकृत रहेका छन्। यसका अतिरिक्त नेप्सेबाट सदस्यता लिएका ९० धितोपत्र दलाल व्यवसायी र २ धितोपत्र व्यापारीहरू सक्रिय रूपमा बजारमा कार्यरत रहेका छन्।
डिजिटल प्रणालीको विस्तार, लगानीकर्तामा वित्तीय चेतनाको वृद्धि र प्रविधिमैत्री सेवाका कारण नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता आगामी दिनमा अझै बढ्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज