शीर्षकहरू

अर्थमन्त्री खनालद्वारा तनहुँमा निर्वाचन तयारी तथा आचारसंहिता पालनाको अनुगमन

अर्थमन्त्री खनालद्वारा तनहुँमा निर्वाचन तयारी तथा आचारसंहिता पालनाको अनुगमन

काठमाडाैं। आगामी २०८२ फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको तयारी र आचारसंहिता पालनाको अवस्थाबारे अनुगमन गर्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मंगलबार तनहुँ जिल्लाको स्थलगत भ्रमण गरेका छन्।

अनुगमनका क्रममा अर्थमन्त्रीले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका थिए।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले हालसम्म तनहुँ जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै उजुरी नपरेको जानकारी गराउँदै जिल्लाका ८ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको बताए।

अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत स्थलगत भ्रमण गरी निर्वाचनको तयारीबारे जानकारी लिएका थिए। सो क्रममा मुख्य निर्वाचन अधिकृत बिष्णु उपाध्याय, निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत भेषराज पौडेल तथा जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले हालसम्मको निर्वाचन तयारी र व्यवस्थाबारे ब्रिफिङ गरेका थिए।

अनुगमन पश्चात प्रतिक्रिया दिँदै अर्थमन्त्री खनालले तनहुँमा निर्वाचनको तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताए। उनले निर्वाचन कार्यालय, स्थानीय प्रशासन तथा सुरक्षा निकायहरू उच्च मनोबलका साथ स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माणमा राजनीतिक दलहरूले देखाएको सक्रियताप्रति उनले आभार व्यक्त गरे।