काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आवद्ध गरेको छ । यस प्रणालीमार्फत महानगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीको दैनिक हाजिरी डिजिटल रूपमा अभिलेख हुनेछ ।
माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले ७ दिनभित्र शिक्षक, कर्मचारी र विद्यार्थीलाई डिजिटल हाजिरी प्रणालीमा समावेश गर्न निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले संयुक्त रूपमा आफ्नै प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएका हुन् ।
महानगरपालिकाले सबै विद्यालयलाई युजर नेम र पासवर्ड उपलब्ध गराइसकेको जनाएको छ । जनकल्याण, टंगाल, गीतामाता, ज्ञानोदय, तरुण, रत्नराज्य, पद्मोदय, जनपथ र विश्व निकेतन माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीको विवरण डाटा इन्ट्री र फेस रिडिङ प्रक्रिया पूरा भइसकेको छ । विद्यार्थीको तथ्याङ्क प्रविष्ट र फेस रिडिङ प्रक्रिया जारी रहेको शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीले जानकारी दिए ।
यो प्रणाली महानगरपालिकाकै आन्तरिक जनशक्तिबाट विकास गरिएको हो । प्रणाली सञ्चालनका लागि विद्यालयका लेखा तथा प्रशासन शाखामा कार्यरत कर्मचारीलाई तालिमसमेत प्रदान गरिएको छ । अब डाटा इन्ट्री, अद्यावधिक र प्रतिवेदन तयार गर्ने काम विद्यालयबाटै हुनेछ भने रियल टाइम सूचना महानगरपालिकाको केन्द्रीय प्रणालीबाट निगरानी गरिनेछ ।
सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार आफ्नै प्रणाली विकास हुनु महानगरपालिकाको महत्वपूर्ण उपलब्धि हो । “अब सेवा लिन परामर्शदातामा निर्भर हुनुपर्दैन, तथ्याङ्कका लागि अरुको भर पर्नु पर्दैन,” उनले भने ।
डाटा प्रविष्टि पूरा भएपछि प्रणालीलाई सब–नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन (सूत्र) सँग आवद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले बताए । यसले दिवा खाजा लगायत प्रति विद्यार्थीका आधारमा उपलब्ध गराइने अनुदान वितरणका लागि आधार तयार गर्नेछ ।
व्यक्तिगत प्रोफाइलमा आधारित यस प्रणालीमार्फत विद्यार्थीले आफ्ना विवरण आफैँ हेर्न सक्नेछन् । आगामी चरणमा विद्यार्थी अनुपस्थित भएको सूचना अभिभावकलाई पठाउने व्यवस्था विकास गरिने महानगरपालिकाले जनाएको छ ।
आर्थिकन्यूज