शीर्षकहरू

एपस्टीन फाइलको खुलासा: शक्तिशाली व्यक्तिहरू आबद्ध यौन बेचबिखन सञ्जालको पर्दाफास

एपस्टीन फाइलको खुलासा: शक्तिशाली व्यक्तिहरू आबद्ध यौन बेचबिखन सञ्जालको पर्दाफास

काठमाडौं । संयुक्त राज्य अमेरिकको  न्याय विभाग ले कुख्यात यौन अपराधी जेफ्री एपस्टीनको अनुसन्धानसँग सम्बन्धित ३५ लाख भन्दा बढी पृष्ठका कागजातहरू गत हालसालै  आधिकारिक रूपमा सार्वजनिक गरेको छ। 

'एपस्टीन फाइल्स ट्रान्सपरेन्सी एक्ट'  ( एपस्टीनको अनुसन्धानसँग जोडिएका कागजातको पारदर्शीता सम्बन्धी  ऐन) अन्तर्गत सार्वजनिक गरिएका यी कागजातहरूमा करिब २,००० भिडियो र १,८०,००० तस्बिरहरू समावेश छन्, जसले एपस्टीनको विश्वव्यापी सञ्जालको अहिलेसम्मकै विस्तृत विवरण बाहिर ल्याएको छ।

राजनीतिक उथलपुथल: क्लिन्टन दम्पती बयान दिन सहमत

यी फाइलहरू सार्वजनिक भएलगत्तै पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन हाउस ओभरसाइट कमिटी (प्रतिनिधि सभाको निगरानी समिति) समक्ष सपथ सहितको बयान दिन सहमत भएका छन्। महिनौंसम्म बयान दिन अस्वीकार गर्दै आएका क्लिन्टन दम्पतीले सदनले उनीहरू विरुद्ध 'अदालतको अवहेलना'  सम्बन्धी कारबाही अघि बढाउने चेतावनी दिएपछि यो निर्णय गरेका हुन्।

हिलारी क्लिन्टनले फेब्रुअरी २६ मा र बिल क्लिन्टनले फेब्रुअरी २७ मा बयान दिने कार्यतालिका तय भएको छ। अमेरिकाको इतिहासमा कुनै पनि पूर्व राष्ट्रपतिलाई यसरी समितिमा उपस्थित गराएर बयान लिन लागिएको यो पहिलो पटक हो।

विश्वका धनाढ्य र शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्ध

सार्वजनिक कागजातहरूले एपस्टीनको धेरै उच्च प्रोफाइल व्यक्तिहरूसँगको घनिष्ठ सम्बन्धलाई थप उजागर गरेको छ। सन् २०१२ मा एलोन मस्क र एपस्टीनबीच उनको निजी टापुमा भ्रमण  विषयमा इमेल आदानप्रदान भएको विवरण बाहिर आएको छ, यद्यपि मस्कले यसलाई ठाडो इन्कार गर्दै   एपस्टीनलाई शंकास्पद व्यक्तिको रुपमा चित्रित गरेका छन् । 

बेलायतमा पनि यी फाइलहरूले ठूलो तरंग सिर्जना गरेको पाइन्छ। यहाँ लर्ड पिटर म्यान्डलसनले सरकारका गोप्य आर्थिक सूचनाहरू एपस्टीनलाई दिएको आरोप लागेपछि आफ्नो पदबाट राजीनामा दिइसकेका छन्। त्यस्तै, सन् २०१० मा एपस्टीनले बकिङ्घम प्यालेसमा निमन्त्रणा पाएको विवरणले प्रिन्स एण्ड्रयूलाई थप विवादमा तानेको छ।

गोपनीयता र कागजात लुकाएको भन्दै विवाद

यति ठूलो परिमाणमा कागजात सार्वजनिक गरिए पनि पीडितका वकिलहरू र सांसदहरूले न्याय विभागको आलोचना गरेका छन्। विभागले ६० लाख भन्दा बढी कागजातहरू मध्ये करिब आधा मात्र सार्वजनिक गरेको र बाँकी फाइलहरू 'अप्रासंगिक' भन्दै लुकाएको आरोप लागेको छ।

साथै, कागजातहरूमा पीडितहरूको नाम र व्यक्तिगत विवरणहरू स्पष्ट रूपमा नमेटाइएको  पाइएपछि करिब १०० जना पीडितहरूको सुरक्षा खतरामा परेको भन्दै केही समयका लागि फाइलहरू अनलाइनबाट हटाइएको थियो।

यौन बेचबिखन सञ्जालको थप प्रमाण

यस प्रतिवेदनको सबैभन्दा गम्भीर पक्ष भनेको जेफ्री एपस्टीन र उनकी सहयोगी गिस्लेन म्याक्सवेलले सञ्चालन गरेको बृहत् "छनोट तथा भर्ती"  सञ्जालको आधिकारिक पुष्टि हुनु हो। सार्वजनिक कागजातहरूका अनुसार, यो सञ्जालमार्फत विश्वका प्रभावशाली र धनाढ्य व्यक्तिहरूका लागि युवतीहरू उपलब्ध गराउने गरिएको विस्तृत विवरण फेला परेका छन्।

यी नयाँ तथ्यहरूले एपस्टीन काण्डमा संलग्न अन्य शक्तिशाली व्यक्तिहरूमाथि समेत तत्काल कानुनी अनुसन्धान र कारबाही हुनुपर्ने मागलाई थप बल पुर्याएको छ।