काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ६ महिनामा नेपाली धितोपत्र बजारमा उल्लेख्य रुपमा आपूर्ति बढेको छ । यस अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल ४८ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र थप सूचीकृत भएको छ । जसले बजारमा सेयरको उपलब्धता बढ्दै गएको संकेत गर्छ । तर अर्कोतर्फ माग पक्ष सोही अनुपातमा नबढे सेयर मूल्यमा दबाब पर्ने जोखिम पनि रहन्छ ।
राष्ट्र बैंकले प्रकाशति गरेको विवरणअनुसार समीक्षा अवधिमा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड रुपैयाँको हकप्रद सेयर, ६ अर्ब २५ करोड रुपैयाँको म्युचुअल फन्ड, ६ अर्ब २५ करोड रुपैयाँकै बोनस सेयर, ३ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर तथा ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ सूचीकृत भएको हो। एकै अवधिमा यति ठूलो परिमाणमा विभिन्न उपकरण बजारमा थपिनुले सेयर बजार आपूर्तिमुखी बन्दै गएको देखाउँछ ।
यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि यस अवधिमा २१ अर्ब १५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। बोर्डले ११ अर्ब ८३ करोड रुपैयाँको म्युचुअल फन्ड, ५ अर्ब ५५ करोड रुपैयाँको साधारण सेयर र ३ अर्ब ७८ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो। यसले आगामी महिनाहरूमा समेत बजारमा नयाँ सेयर थपिने संकेत गरेको छ।
एकातर्फ धितोपत्रको ठूलो परिमाण सूचीकृत हुनु र नयाँ निष्कासनको अनुमति बढ्नुले बजारको आपूर्ति पक्ष मजबुत बन्दै गएको देखाउँछ। यसले दीर्घकालमा बजारलाई परिपक्व र विविध बनाउने अपेक्षा गर्न सकिन्छ । तर अर्कोतर्फ, माग पक्ष सोही अनुपातमा नबढे सेयर मूल्यमा दबाब पर्ने जोखिम पनि रहन्छ ।
बैंक तथा बीमा समूहको उच्च वर्चस्व
२०८२ पुस मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २८४ पुगेको छ । जुन २०८१ पुसमा २६७ मात्र थियो। सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन्।
धितोपत्र बजार पुँजीकरणमा पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको वर्चस्व कायमै छ। कुल बजार पुँजीकरणमध्ये ५२.३ प्रतिशत हिस्सा बैंक तथा बीमा समूहको छ। त्यसपछि जलविद्युत् कम्पनीको १५.२ प्रतिशत, लगानी कम्पनीको ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ६.९ प्रतिशत, व्यापारिक संस्थाको ४.८ प्रतिशत, होटेल समूहको ३.१ प्रतिशत र अन्य समूहको १०.४ प्रतिशत हिस्सा रहेको छ।
विशेषगरी बैंक तथा बीमा समूहको उच्च वर्चस्वले बजारलाई केही हदसम्म एकोहोरो बनाएको विश्लेषकहरूको भनाइ छ। जलविद्युत् र उत्पादनमूलक क्षेत्रको हिस्सा क्रमशः बढ्दै गए पनि अझै सन्तुलित क्षेत्रगत विस्तार आवश्यक देखिन्छ।
जीडीपीको अनुपातमा बजार पुँजीकरण घट्यो
२०८२ पुस मसान्तमा नेप्सेमा सूचीकृत ९ अर्ब २२ करोड कित्ता सेयरको चुक्ता मूल्य ९ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा नेप्से सूचकांक पनि सामान्य सुधार देखाउँदै २०८१ पुस मसान्तको २५९४.१३ बाट बढेर २०८२ पुस मसान्तमा २६४१.४४ अंक पुगेको छ।
यससँगै, धितोपत्र बजारको कुल पुँजीकरण ४४ खर्ब ३५ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड रुपैयाँ थियो। तर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सापेक्ष बजार पुँजीकरणको अनुपात भने घटेको छ। २०८१ पुसमा जीडीपीको ७५.३७ प्रतिशत रहेको बजार पुँजीकरण २०८२ पुसमा ७२.६२ प्रतिशतमा झरेको छ।
नेप्से सूचकांकमा सीमित सुधार र जीडीपी सापेक्ष बजार पुँजीकरण घट्नुले लगानीकर्ताको भरोसा पूर्ण रुपमा फर्किन बाँकी रहेको संकेत गर्छ । तर आपूर्ति, सूचीकृत कम्पनीको संख्या र उपकरणको विविधता हेर्दा नेपाली सेयर बजार संरचनागत रूपमा विस्तारको चरणमा प्रवेश गरिरहेको स्पष्ट देखिन्छ ।
आर्थिकन्यूज