शीर्षकहरू

२०० दिनमा वाणिज्य विभागले ५० कन्सल्टेन्सी सहित ३६६ वटा फर्मलाई गर्यो कारबाही (सूचीसहित)

२०० दिनमा वाणिज्य विभागले ५० कन्सल्टेन्सी सहित ३६६ वटा फर्मलाई गर्यो कारबाही (सूचीसहित)

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको २०० दिनमा ३६६ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन देखि माघ १९ गतेसम्म उक्त फर्म, कम्पनी तथा उद्योगलाई विभागले कारबाही गरेको हो । 

विभागले दैनिक अनुगमनका क्रममा विभिन्न कैफियत भेटाएपछि उक्त फर्म, उद्योग तथा कम्पनीहरू कारबाहीमा परेका हुन् । ति फर्म, उद्योग तथा कम्पनीबाट विभागले १ करोड ५२ लाख ८२ हजार रुपैयाँ जरिवाना तिराएको छ । यो अवधिमा विभिन्न ४० भन्दा धेरै प्रकारका फर्म, उद्योग तथा कम्पनीलाई कारबाही गरिएको विभागका अनुगमन अधिकृत अमित झाले जानकारी दिए । 

उनका अनुसार खाद्य वस्तु, कन्सल्टेन्सी, रेडिमेट तथा थान कपडा, भाँडाकुडा, होटल तथा रेस्टुरेन्ट, कस्मेटिक, मिठाई, किराना, इलेक्टिकल तथा इलेक्टोनिक्स, हार्डवेयर, अटो पार्ट्स, फर्निचर, प्लास्टिक, जुत्ता चप्पल, निर्माण सामाग्री, तरकारी तथा फलफूल, खाद्यान्न, औषधी तथा जडिबुटी, पानी, रंगरोगनका सामाग्री, स्कुल तथा कलेज, सुनसहित बहुमूल्य धातु, डेरी प्रोडक्टस, फेन्सी पसल, मार्ट तथा मिनी मार्ट, मदिरा एवं सुर्तिजन्य, डिपार्टमेन्ट स्टोर, माछा तथा मासु, मेसिनरी औजार, कृषि फर्म, अण्डा र तेल उत्पादन तथा बिक्री गर्ने कम्पनी तथा फर्म लगायतलाई विभागले कारबाही गरेको हो । 

कारबाहीमा परेका बाहेक २७६ वटा फर्मको कागजात माग गरिएको विभागले जनाएको छ । यसैगरी, ११५ फर्म सामान्य अवस्थामा रहेकाले सामान्य निर्देशन गरिएको, ३ वटा फर्मको वस्तु नष्ट गरिएको र १ हजार ३६५ वटा निर्देशन दिइएको जनाइएको छ । यस अवधिमा विभागको ५८० वटा टोलीले २ हजार १२४ वटा फर्म, उद्योग तथा कम्पनीमा अनुगमन गरिएको थियो । 

कुन क्षेत्रका कति कारबाही ? 

सबैभन्दा धेरै खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने फर्म तथा कम्पनीहरू कारबाहीमा परेका छन् । यस क्षेत्रमा ५१ वटा फर्मलाई कारबाही गरिएको छ, जसलाई १९ लाख ९४ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

यसैगरी, ५० वटा एजुकेसन कन्सल्टेन्सीलाई कारबाही गरिएको र ३१ लख ७० हजार रुपैयाँ जरिवाना गरिएको छ । रेडिमेट तथा थान कपडा उत्पादन तथा बिक्री वितरण गर्ने ४५ फर्म कारबाहीमा परेका छन्, जसबाट ९ लाख ८ हजार रुपैयाँ जरिवाना उठाइएको छ । २३ वटा भाँडाकुडा उत्पादन तथा बिक्री गर्ने फर्म कारबाहीमा परेका छन्, उनीहरुले ५ लाख ४५ हजार जरिवाना तिरेका छन् भने २० वटा रेस्टुरेन्ट तथा होटलले ६ लाख ६१ हजार रुपैयाँ जरिवाना तिरेका छन् । 

यस्तै, २० वटा कस्मेटिक पसल, १५ वटा मिठाई पसल, १४ वटा किराना पसल, ८ वटा अटो पार्ट्स ७ वटा जुत्ता चप्पल उद्योग तथा पसल ३ वटा खाने पानी उत्पादन गर्ने कम्पनी, २ वटा स्कुल तथा कलेज लगायतलाई जरिवाना तिराएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्म तथा कम्पनीहरूलाई कारवाही गरिएको अधिकृत झाले जानकारी दिए ।