शीर्षकहरू

ई-सेवासँगको सहकार्यमा नेपाल लाइफको ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

ई-सेवासँगको सहकार्यमा नेपाल लाइफको ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक ई–सेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ। सार्वजनिक जीवन बीमा क्षेत्रमा सबैभन्दा धेरै विश्वास गरिएको कम्पनीका रूपमा परिचित नेपाल लाइफले आम नागरिकको वित्तीय सुरक्षालाई केन्द्रमा राख्दै यो योजना बजारमा ल्याएको हो।

अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाको मुख्य लक्ष्य बीमितको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ। जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई ध्यानमा राखेर तयार गरिएको यस योजनामा कम प्रिमियममै उच्च बीमा सुरक्षा उपलब्ध गराइने छ।

विशेषगरी सीमित आम्दानी भएका, पहिलो पटक जीवन बीमा गर्न चाहने तथा युवा वर्गका लागि यो योजना उपयोगी हुने अपेक्षा गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीका अनुसार संकटको समयमा परिवारलाई पर्याप्त आर्थिक सहारा दिन सक्ने गरी ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ डिजाइन गरिएको हो। उनले सहज, सरल र किफायती प्रिमियममार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्यका साथ योजना सार्वजनिक गरिएको बताए।

यस योजनाअन्तर्गत वार्षिक प्रिमियम ७२५ रुपैयाँदेखि सुरु हुन्छ। बीमितले ५ लाखदेखि २ करोड रुपैयाँसम्मको जीवन बीमा सुरक्षा लिन सक्नेछन्। योजना १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकका लागि उपलब्ध छ। बीमाअवधिभित्र आकस्मिक मृत्यु वा दुर्घटनाबाट मृत्यु भएमा दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिने व्यवस्था छ।

कम्पनीका अनुसार यस योजनाले आकस्मिक जोखिमको अवस्थामा परिवारको दैनिक जीवनयापन, ऋणको दायित्व र भविष्यका आवश्यकतामा आर्थिक सहयोग पुर्‍याउने विश्वास लिइएको छ। ग्राहकले यो बीमा योजना ई-सेवा एपमार्फत सजिलै खरिद गर्न सक्ने र पोलिसी तत्कालै इमेलमार्फत प्राप्त गर्न सक्नेछन्।

नेपाल लाइफ इन्स्योरेन्सले बीमा साक्षरता विस्तार गर्दै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउने उद्देश्यअनुसार नवीन तथा ग्राहक–मैत्री बीमा योजनाहरू निरन्तर ल्याउँदै आएको छ। ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ पनि सोही प्रतिबद्धताको महत्वपूर्ण कदमका रूपमा कम्पनीले लिएको जनाएको छ।