शीर्षकहरू

नेपालको 'क्रिएटर इकोनोमी' लाई सशक्त बनाउन पाइलट प्रोजेक्ट सुरु गर्दै भिल

नेपालको 'क्रिएटर इकोनोमी' लाई सशक्त बनाउन पाइलट प्रोजेक्ट सुरु गर्दै भिल

काठमाडौँ । भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिलले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ। काठमाडौँमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा सीईओ दीलिप ढकालले यस्तो घोषणा गरेका हुन् ।

भिलको यो प्रवेशले नेपाली डिजिटल क्रिएटरहरूलाई विश्वव्यापी मापदण्डसँग जोड्ने र नेपालको डिजिटल अर्थतन्त्रमा एउटा नयाँ कोसेढुङ्गो साबित हुने अपेक्षा गरिएको छ । अमेरिकी बजारमा स्थापित भइसकेको यो प्लेटफर्मले अब नेपाली व्यवसायीहरूलाई पनि

'अथेन्टिक' भिडिओ सामग्रीमार्फत आफ्नो बजार विस्तार गर्न सहयोग पुर्याउनेछ ।

भिलका सीईओ दीलिप ढकालले आधुनिक क्रिएटर इकोनोमी केवल कन्टेन्ट निर्माणमा मात्र सीमित नभएर यो जीविकोपार्जन, विश्वास र मापनयोग्य प्रणालीसँग जोडिएको कुरामा जोड दिए । उनले भने, 'नेपालमा अथाह सिर्जनशील प्रतिभाहरू छन् । हाम्रो पाइलट प्रोजेक्टले क्रिएटरहरूलाई उनीहरूको सीपबाट अर्थोपार्जन गर्न र ब्रान्डहरूलाई प्रमाणित क्रिएटरहरूसँग काम गर्न मद्दत गर्नेछ ।'

अमेरिकी दूतावासको पहलमा आयोजित यो मेलाले नेपाली क्रिएटरहरूलाई नयाँ विचार अन्वेषण गर्न र सीप विकास गर्न एउटा साझा मञ्च प्रदान गरेको छ । यो परियोजनाको मुख्य उद्देश्य नेपालको बढ्दो क्रिएटर इकोनोमीलाई सहयोग पुर्याउनु र ब्रान्ड तथा क्रिएटरहरूबिचको सम्बन्धलाई थप प्रभावकारी बनाउनु हो ।

यसले नेपाली क्रिएटरहरूलाई व्यावसायिक अवसरहरूसँग जोड्ने र उनीहरूको वृद्धिका लागि आवश्यक प्रणाली विकास गर्ने लक्ष्य राखेको छ ।छलफलका क्रममा क्रिएटर इकोनोमीको विश्वव्यापी र नेपाली बजारको बारेमा केही रोचक तथ्याङ्कहरू प्रस्तुत गरिएका थिए ।

हाल विश्वभर क्रिएटर इकोनोमीको मूल्य २५० अर्ब डलर भन्दा बढी छ ।नेपालमा यो क्षेत्र करिब ३ देखि ४ करोड अमेरिकी डलर बराबरको रहेको अनुमान गरिएको छ ।

तथ्याङ्क अनुसार नेपाली क्रिएटरहरूले वार्षिक रूपमा २ करोड ५० लाख डलरभन्दा बढी कमाइरहेका छन्, जसले नेपालमा यस क्षेत्रको उच्च सम्भावनालाई दर्साउँछ ।

सान फ्रान्सिस्कोकी यूजीसी क्रिएटर भ्यारोनिका कामाचोले छलफलमा भाग लिँदै क्रिएटरहरूले सामना गरिरहेका समस्याहरूको बारेमा चर्चा गरे । उनका अनुसार धेरैजसो क्रिएटरहरूले स्पष्ट कार्यक्षेत्रको अभाव, भुक्तानीमा ढिलाइ र मानक प्रक्रियाको कमी जस्ता समस्या भोगिरहेका छन् ।

कार्यक्रममा क्रिएटरहरूलाई दिगो आम्दानीका स्रोतहरू निर्माण गर्नका लागि आवश्यक सीपहरू विकास गर्न सुझाव दिइएको थियो । जसमा दर्शकलाई आकर्षित गर्ने कला स्टोरी टेलिङ, व्यावसायिक सहकार्यका लागि प्रभावकारी सञ्चार, ब्रान्डहरूसँग काम गर्दा अपनाउनुपर्ने व्यावसायिक मापदण्ड आदि रहेका छन् ।