शीर्षकहरू

नेकपा एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राख्यो

सामाजिक सद्भाव कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभ्याउनेछः इश्वर पोखरेल

नेकपा एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राख्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई गम्भीर चासोका साथ नियालिरहेको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै एमालेले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६३ क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी दर्ता हुन नसकेको र स्थानीय परिस्थितिका आधारमा विभिन्न राजनीतिक दल तथा समूहसँग संवाद र सहमति प्रक्रिया जारी रहेको एमालेले जनाएको छ ।

एमालेले उक्त उम्मेदवारीलाई सबै प्रकारका षड्यन्त्र, जालझेल र घेराबन्दीविरुद्धको नागरिक तथा राजनीतिक खबरदारीका रूपमा व्याख्या गरेको छ । साथै विध्वंस, आगजनी र राज्य संरचना नष्ट गर्ने प्रवृत्तिविरुद्ध निर्माण र विकासको प्रतिबद्धता रहेको उल्लेख गरेको छ ।

प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एमालेले गैरजिम्मेवार र गैरराजनीतिक ढंगले प्रविधिको प्रयोग भइरहेकोप्रति आपत्ति जनाएको छ । विभिन्न राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन चिन्हका विषयमा भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग भइरहेको आरोप एमालेले लगाएको छ ।

एमालेको निर्वाचन चिन्ह परिवर्तनजस्ता भ्रामक प्रचार सामग्री निर्माण तथा प्रसारण गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग पार्टीले गरेको छ । साथै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी सामाजिक सञ्जालमा गरिएका गालीगलौज, अमर्यादित र असभ्य अभिव्यक्तिको एमालेले कडा शब्दमा निन्दा गरेको छ ।

एमालेले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा अझै सुनिश्चित हुन नसकेको दाबी गरेको छ । विज्ञप्तिमा भयरहित र निर्भिक रूपमा मतदान गर्न पाउने वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व भए पनि हालसम्म विश्वासिलो वातावरण बन्न नसकेको उल्लेख छ।

देशका विभिन्न जेल तथा सुधार गृहबाट फरार कैदीबन्दी अझै पक्राउ नपरेको, अवैध हातहतियार बाहिरै रहेको, राजधानीमा संगठित चोरी तथा लुटपाट बढेको एमालेको भनाइ छ ।

निर्वाचन आचारसंहिताको निरन्तर उल्लङ्घन भइरहेको भन्दै एमालेले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, शान्ति सुरक्षा र सामाजिक सद्भावमा असर पर्ने गतिविधिमाथि निगरानी बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । अन्यथा यस्ता गतिविधिबाट उत्पन्न हुने अराजकता, हिंसा र विध्वंसको जिम्मेवारी सरकार र सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी पार्टीले दिएको छ ।

सामाजिक सद्भाव कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभ्याउनेछः इश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता इश्वर पोखरेलले सामाजिक सद्भावलाई कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभाउने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरुसँग संवाद कार्यक्रममा उनले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको भन्दै यसलाई कमजोर बनाउने कुनै पनि कामको विपक्षमा र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा एमाले केन्द्रीत हुने बताए ।

उनले भने, ‘सामाजिक सद्भाव हाम्रो राष्ट्रिय एकताको आधार हो । यो सामाजिक सद्भावलाई कमजोर बनाउने कुनै पनि काम हुन्छ भने एमालेले सहन सक्दैँन् । त्यसको विपक्षमा आफूलाई उभाउने काम गर्छ र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा हामी केन्द्रीत हुने छौ । यो घोषणा पत्रले व्यक्त गर्ने प्रतिबद्धताको रुपमा आउने छ । त्यसपछि विकास निर्माणसँग सम्बन्धित महत्वपूर्ण मुद्धाहरु जुन हिजो नेकपा एमालेको सरकार भएको बेला सुरु गरिएका थिए । ती विषयमा हामी केन्द्रीत हुन चहान्छौ ।’

यस्तै, उनले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र जनताले सेवा प्राप्त गर्ने धेरै क्षेत्रमा जुन समस्याहरु देखा परेका छन् त्यसलाई सम्बोधन गर्ने पनि एमालेको प्रतिबद्धता रहने बताए ।
यस पटकको घोषणा पत्रमा एमाले अलि पृथव तरिकाले प्रस्तुत भएको भन्दै राम्रो काम मात्र होईन कुन काम कति बेला गर्ने भन्ने बारेमा किटान गरेर घोषणा पत्र तयार गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘यस पटकको घोषणा पत्रमा अलि पृथव तरिकाले हामी प्रस्तुत भएको देख्न सक्नु हुन्छ । त्यो भनेको हामी निश्चित मुद्धाहरुमा कार्य तालिकाका साथ प्रस्तुत हुन्छौ । राम्रो राम्रो काम मात्र होईन कुन काम कति बेला गर्छौ भन्ने बारेमा किटान गरेर हामी आउने छौ।’

साथै, उनले जेनजीको मुद्धामा पार्टीको विमति नभए पनि आन्दोलनको नाममा भएको षड्यन्त्रमा गम्भिर असहमती र विरोध रहेको भन्दै यो कुरामा दुईमत नरहेको उल्लेख गरे।

उनले भने, ‘जेनजी समूहले उठाएको मागहरु अनुचित थिएनन् । त्यो मागहरु पूरा गराउने शिलशिलामा प्रारम्भ गरिएको स्टेपहरु अनुचित थिएनन् तर त्यसको केही समयपछि जुन हाईज्याक भयो, यो मेरो शब्द होईन आन्दोलनकारीहरुले नै हाईज्याक भन्ने शब्द प्रयोग गरेका छन् । हाईज्याक भईसकेपछि अवस्था षड्यन्त्र तर्फ गएको हो । यसलाई अलि छुट्टाएर बुझ्नु पर्छ । जेनजीको मुद्धामा हाम्रो विमति होईन तर जुन आन्दोलनको नाममा षड्यन्त्र भए त्यसमा हाम्रो गम्भिर असहमती र विरोध हो, त्यसकारण हामी यसको विरोध गर्छौ यसमा कुनै दुईमत छैन् ।’