शीर्षकहरू

नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । क्रिकेट संघ नेपाल (क्यान) सँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिङ्कले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी अनावरण गरिएको हो ।

साथै उक्त कार्यक्रममा क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्कबीचको साझेदारीसमेत औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।  उक्त सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद्का महासचिव राम चरित्र मेहेता र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

बुधबार आयोजित जर्सी अनावरण कार्यक्रममा क्यानका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषतः महिला क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। जर्सी प्रायोजनले खेलाडीहरूलाई प्रोत्साहन, आत्मविश्वास र व्यावसायिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। यस सहकार्यबाट राष्ट्रिय महिला क्रिकेट टोलीको तयारी, मनोबल तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।