शीर्षकहरू

प्राधिकरणद्वारा १८ नयाँ बीमालेख र ७ पूरक करार स्वीकृत

प्राधिकरणद्वारा १८ नयाँ बीमालेख र ७ पूरक करार स्वीकृत

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा १८ वटा नयाँ बीमालेख र ७ वटा नयाँ पूरक (राइडर) करार स्वीकृत गरेको छ । प्राधिकरणका अनुसार यीमध्ये ४ वटा जीवन बीमालेख र ७ वटा जीवन बीमालेखका राइडर स्वीकृत भएका हुन् । त्यस्तै, निर्जीवन बीमातर्फ १४ वटा नयाँ बीमालेख स्वीकृत गरिएको छ ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले पेश गरेका २ वटा नयाँ बीमालेख र २ वटा राइडरलाई स्वीकृति दिइएको हो । यसैगरी, पहिले नै परिमार्जन भएका २ वटा बीमालेख र ५ वटा राइडरमा गरिएको संशोधनलाई पनि स्वीकृति प्रदान गरिएको छ । स्वीकृत बीमालेख तथा पूरक करारहरूमा महिला लक्षित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ समेत रहेको छ । यस योजनामा गर्भावस्थामा हुन सक्ने जटिलतालाई मध्यनजर गर्दै ‘गर्भावस्था जटिलता सम्बन्धी पूरक करार’ र ‘गर्भावस्था स्याहार पूरक करार’ थप गर्ने व्यवस्था गरिएको छ ।

निर्जीवन बीमातर्फ, प्राधिकरणले १४ नयाँ बीमालेखलाई स्वीकृति दिएको छ । स्वीकृत बीमालेखमध्ये, नेको इन्स्योरेन्स कम्पनीको ‘विद्यार्थी अन्तर्राष्ट्रिय स्वास्थ्य बीमा योजना’ स्वीकृत भएको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पर्यटन बीमा र निर्माण परियोजनाका लागि व्यावसायिक क्षतिपूर्ति बीमा योजना पनि अनुमतिप्राप्त भएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले साना तथा मझौला व्यवसाय संरक्षण बीमा र निर्माण परियोजनाका लागि व्यावसायिक क्षतिपूर्ति बीमा योजना प्रस्तुत गरेकोमा प्राधिकरणले विक्री वितरणको अनुमति दिएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी र सगरमाथा प्रिमियर इन्स्योरेन्स कम्पनीले निर्माण परियोजनाका लागि व्यावसायिक क्षतिपूर्ति बीमा योजना पेश गरेका छन्, जसलाई प्राधिकरणले अनुमति प्रदान गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीको ‘शिखर मोटर विस्तारित वारेन्टी बीमा योजना’ र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको ‘अजोड मोटर विस्तारित वारेन्टी बीमा योजना’ पनि स्वीकृत गरिएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रस्तुत गरेको ‘निर्माण परियोजनाका लागि व्यावसायिक क्षतिपूर्ति बीमा योजना’ र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीको ‘सम्पत्ति बीमा अन्तर्गत थप आवरण र ओरियन्टल ओभरसिज मेडिक्लेम बीमा योजना’ समेत अनुमतिप्राप्त भएको छ ।

प्राधिकरणका अनुसार, बीमालेख निर्माण र बिक्री प्रक्रिया नियमनको अन्तर्गत नै गरिन्छ । कम्पनीहरूले आफैंले बीमालेख तयार गर्न सक्ने भए पनि प्राधिकरणको अनुमति बिना कुनै पनि बीमालेख बिक्री गर्न पाउँदैनन् । प्रस्तावित बीमालेखको मूल्याङ्कन गरी आवश्यक ठानेमा मात्र प्राधिकरणले बिक्री अनुमति दिने व्यवस्था छ । 

बीमालेख निर्माणमा सम्भावित जोखिमको मूल्याङ्कनले महत्वपूर्ण भूमिका खेल्छ । भौगोलिक बनावट, वातावरण, जीवनशैली, आम्दानी स्तर तथा अन्य सामाजिक–आर्थिक कारकहरूले जोखिम निर्धारण गर्ने हुँदा बीमालेख पनि भौगोलिक र सामाजिक सन्दर्भ अनुसार फरक हुनुपर्छ । 

तर, नेपाली बीमा कम्पनीहरुले मौलिक बीमालेख भन्दा बढी भारतीय बीमालेखको नक्कल गर्ने गरेको प्राधिकणले जनाएको छ । नक्कल गरिएको कतिपय बीमालेख नेपाली परिवेशमा नसुहाउने प्राधिकरणको भनाई छ ।