शीर्षकहरू

टर्किस एयरलाइन्सको विमान कोलकाता डाइभर्ट, सबै यात्रु सुरक्षित

टर्किस एयरलाइन्सको विमान कोलकाता डाइभर्ट, सबै यात्रु सुरक्षित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२७ (एयरबस ए–३३०) टेकअफको क्रममा दायाँ इन्जिनमा आगलागी भएको संकेत देखिएपछि भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बुधबार स्थानीय समयअनुसार दिउँसो १ बजेर २६ मिनेटमा उडान भर्ने क्रममा विमानले टेकअफ लगत्तै दायाँ इन्जिनमा आगो लागेको संकेत (राइट इन्जिन अन फायर) देखिएको जानकारी काठमाडौं एप्रोच कन्ट्रोललाई गराएको थियो।

रिपोर्ट प्राप्त भएपछि विमानले केही समय धादिङको धार्के क्षेत्र आसपास होल्ड गर्दै प्राविधिक अवस्था मूल्यांकन गरेको थियो। त्यसपछि चालकदलले सुरक्षालाई प्राथमिकता दिँदै भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उक्त विमान नेपाली समयअनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकातामा सुरक्षित रूपमा अवतरण गरेको हो। विमानमा २२५ जना यात्रु र ११ जना चालकदलका सदस्य गरी कुल २३६ जना सवार थिए। सबै यात्रु तथा चालकदल सुरक्षित रहेको क्यानले स्पष्ट गरेको छ।

घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय अन्य दुई उडानलाई होल्डमा राखिएको थियो भने चीनबाट काठमाडौं आइरहेको एयर चाइनाको एक उडान पनि डाइभर्ट गरिएको प्राधिकरणले जनाएको छ। घटनाबारे थप प्राविधिक अनुसन्धान भइरहेको क्यानले जानकारी दिएको छ।