शीर्षकहरू

हुवावेद्वारा आईसीटी जनशक्ति उत्पादनमा जोड, ‘सिड्स फर द फ्युचर’बाट २१९ नेपाली विद्यार्थी लाभान्वित

हुवावेद्वारा आईसीटी जनशक्ति उत्पादनमा जोड, ‘सिड्स फर द फ्युचर’बाट २१९ नेपाली विद्यार्थी लाभान्वित

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले आईसीटी जनशक्ति उत्पादन र विश्वव्यापी प्रविधि अनुभवमार्फत नेपालको डिजिटल भविष्य सुदृढ गर्दै आएको जनाएको छ। नेपालमा दुई दशकदेखि सक्रिय हुवावेले दूरसञ्चार पूर्वाधार विस्तारसँगै दक्ष डिजिटल जनशक्ति विकासलाई प्राथमिकता दिँदै आएको हो।

हुवावेका अनुसार कम्पनीले नेपालमा टुजी, थ्रीजी र फोरजी सेवा विस्तारमा टेलिकम कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ। साथै डाटा सेन्टर, आईसीटी पूर्वाधार, नेटवर्क निर्माण, स्मार्टफोन तथा कन्जुमर इलेक्ट्रोनिक्स क्षेत्रमा पनि योगदान दिँदै आएको छ।

पूर्वाधार विकाससँगै कम्पनीले युवा प्रतिभा विकासलाई राष्ट्रिय डिजिटल प्राथमिकतासँग जोड्दै अघि बढाएको जनाएको छ। सोही उद्देश्यअनुसार हुवावे नेपालले सन् २०१९ देखि ‘सिड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रम हुवावेको विश्वव्यापी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुँदै आएको हो।

कार्यक्रममार्फत हालसम्म चीन, थाइल्यान्ड र सिंगापुरमा सञ्चालन गरिएका भौतिक तथा भर्चुअल तालिममा ४९ जना नेपाली विद्यार्थी सहभागी भएका छन्। नेपालमै सञ्चालन गरिएका स्थानीय तालिम तथा डिजिटल सीप विकास कार्यक्रमबाट १७० भन्दा बढी विद्यार्थी लाभान्वित भएका हुवावेले जनाएको छ। विश्वव्यापी रूपमा सन् २००८ मा सुरु भएको उक्त कार्यक्रमबाट हालसम्म १४० भन्दा बढी देशका १९ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्।

हुवावेका अनुसार सन् २०२५ मा नेपालबाट पाँच जना विद्यार्थी ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका लागि छनोट भएका थिए। उक्त कार्यक्रममा १० भन्दा बढी देशका ६५ भन्दा बढी विद्यार्थी सहभागी थिए। सहभागी विद्यार्थीहरूले फाइभजी, कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड कम्प्युटिङसम्बन्धी व्यवहारिक तालिम लिएका थिए।

तालिमका क्रममा स्मार्ट पिभी समाधान, स्मार्ट गभर्नेन्स, ड्रोन प्रविधि, स्वचालित प्रणाली, कृषि, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवामा प्रविधिको प्रयोगबारे जानकारी दिइएको हुवावेले जनाएको छ। साथै चीनको नवप्रवर्तन इकोसिस्टम, स्टार्टअप विकास र प्रविधि नेतृत्वसम्बन्धी छलफलमा पनि विद्यार्थीहरू सहभागी भएका थिए।

हुवावे नेपालका अनुसार उक्त कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को र विभिन्न विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ। यसले राष्ट्रिय युवा सशक्तीकरण तथा डिजिटल विकास नीतिसँग सामञ्जस्य राख्दै कार्यान्वयन भइरहेको कम्पनीले जनाएको छ।