शीर्षकहरू

निर्वाचनको नैतिकता प्रवर्द्धनका लागि टिकटक र निर्वाचन आयोगबीच सहकार्य

निर्वाचनको नैतिकता प्रवर्द्धनका लागि टिकटक र निर्वाचन आयोगबीच सहकार्य

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र नैतिक बनाउन टिकटकले निर्वाचन आयोग नेपाल (ECN) सँग समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ। आयोग परिसरमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो।

यस सहकार्यअन्तर्गत टिकटकले निर्वाचन नैतिकता सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको थियो। कार्यशालामा जिम्मेवार डिजिटल सहभागिता, भ्रामक सूचनासँग जुध्ने उपाय, र निर्वाचनको गरिमा सम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा टिकटकले आफ्नो प्लेटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो। यस क्रममा सामुदायिक निर्देशिका, भ्रामक सूचना, राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूबारे प्रस्तुति दिइएको थियो। साथै, प्रयोगकर्ताले विश्वसनीय सूचना पहुँच गर्न, सम्भावित उल्लङ्घनबारे जानकारी गराउन र निर्वाचनसम्बन्धी सामग्री व्यवस्थापनबारे बुझ्न सहयोग गर्ने उपकरण तथा सुविधाबारे पनि जानकारी गराइएको थियो।

टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्तकिनले भने, “लोकतन्त्रका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण क्षण हो। सचेत सहभागिता प्रवर्द्धन गर्ने, निष्पक्षता सुदृढ गर्ने र सुरक्षित डिजिटल वातावरण उपलब्ध गराउने हाम्रो लक्ष्य हो।”

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग र निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्य स्वागतयोग्य छ। यसले भ्रामक सूचना नियन्त्रण र सचेत सहभागितामा टेवा पुर्याउँछ।”

टिकटकले आयोग तथा अन्य सरोकारवालासँग निरन्तर सहकार्य गर्दै निर्वाचन नैतिकता सुदृढ गर्ने, विश्वसनीय सूचना वातावरण बनाउन र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।