काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिसम्ममा कम्पनीको नाफा २६ करोड ७८ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ३६.४५ प्रतिशतले बढेको छ भने कुल आम्दानी २७.५९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कुल दाबी भुक्तानी ३०.७१ प्रतिशतले बढेको छ भने कुल खर्च ३०.०६ प्रतिशतले बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य वृद्धि भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ११ पैसा बढेर १० रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा र मूल्य–आम्दानी अनुपात ४१.११ गुणा रहेको छ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २८ करोड ९८ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ४३ करोड ४२ लाख रुपैयाँ तथा अन्य इक्विटीमा २१ करोड रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख गरिएको छ।
आर्थिकन्यूज