शीर्षकहरू

होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणका लागि खुला

होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणका लागि खुला

 काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आज (माघ २२ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर उपलब्ध गराइएको हो।

कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ३३ लाख २० हजार कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ दरमा निष्काशन गर्न लागिएको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्दा कुल लागत ३ अर्ब ४८ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहने अनुमान गरिएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।