काठमाडौं । इरान परमाणु कार्यक्रमसम्बन्धी सम्झौताका लागि अमेरिकासँग वार्तामा बस्न सहमत भएको छ। अमेरिकाले लगातार दबाब दिएपछि इरान अन्ततः वार्तामा सहभागी हुन तयार भएको हो।
दुवै देशबीच ओमानको राजधानी मस्कटमा वार्ता गर्ने सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। मध्यपूर्वमा क्षेत्रीय द्वन्द्व चर्किने चिन्ताबीच टर्की लगायतका देशहरूले वार्ताको पहल गर्न तयार रहेको सन्देश दिएका थिए।
वार्ता शुक्रबार मस्कटमा हुने तय भएको छ। इरानले अघिल्ला परमाणु केन्द्रित वार्ताहरू यही स्थानमा भएको भन्दै निरन्तरता स्वरूप मस्कट रोजेको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।
वार्तामा अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर सहभागी हुनेछन् भने इरानतर्फबाट विदेशमन्त्री अब्बास अराक्ची उपस्थित हुनेछन्।
वार्ताको एजेन्डा अझै स्पष्ट नभए पनि अमेरिका इरानको परमाणु कार्यक्रमसँगै क्षेत्रीय गतिविधि पनि छलफलमा समावेश हुनुपर्ने पक्षमा छ। तर इरानले परमाणु कार्यक्रमबाहेक अन्य विषय छलफलयोग्य नरहेको अडान लिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्ता परमाणु विषयमा मात्र सीमित नरहने स्पष्ट पारेका छन्। उनका अनुसार इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम, सशस्त्र समूहलाई दिएको समर्थन र मानवअधिकार अवस्थाबारे पनि छलफल हुनुपर्ने अमेरिकी अडान छ।
इरानले आफ्नो परमाणु गतिविधि शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ। तर अमेरिका र इसराइलले विगतमा परमाणु हतियार विकासको प्रयास गरेको आरोप लगाउँदै आएका छन्। पछिल्लो समय अमेरिका हजारौं सैनिक, विमानवाहक युद्धपोत र लडाकु विमानहरू मध्यपूर्व पठाइसकेको छ, जसले सम्भावित सैन्य टकरावको चिन्ता बढाएको छ।
सुरुमा इस्तानबुलमा वार्ता गर्ने सहमति भए पनि पछि स्थान परिवर्तन गरेर मस्कटमा सारिएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि कडा अभिव्यक्ति दिँदै सर्वोच्च नेता आयातोल्लाह अली खामेनी ‘धेरै चिन्तित हुनुपर्ने’ बताएका छन्।
गत गर्मीमा इसराइल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव चर्किएको थियो। इरानले त्यसपछि आफ्नो मिसाइल भण्डार पुनः भरिएको दाबी गर्दै सुरक्षा खतरामा परे कडा जवाफ दिने चेतावनी दिएको छ।
ट्रम्पले परमाणु सम्झौता नहुँदा ‘नकारात्मक परिणाम’ आउन सक्ने चेतावनी दिएपछि इरान प्रतिबन्ध हट्ने अपेक्षासहित वार्तामा इच्छुक देखिएको छ। पश्चिमी प्रतिबन्धले इरानको अर्थतन्त्र गम्भीर संकटमा परेको छ।
यसैबीच अरब सागरमा तैनाथ अमेरिकी युद्धपोत युएसएस अब्राहम लिंकनलाई लक्ष्य गरेर इरानले ड्रोन प्रहार गरेको घटना सार्वजनिक भएको छ। अमेरिकी लडाकु विमानले उक्त ड्रोन खसालेको दाबी गरिएको छ। साथै होर्मुज जलडमरूमध्यमा इरानी रिभोलुसनरी गार्डले अमेरिकी झण्डावाहक ट्याङ्करलाई धम्क्याएको घटनाले तनाव थप बढाएको छ।
आर्थिकन्यूज