शीर्षकहरू

बिल गेट्सले महामारीको षडयन्त्र रचेको दाबी

बिल गेट्सले  महामारीको  षडयन्त्र रचेको दाबी

काठमाडौं। सामाजिक सञ्जालमा हालै सार्वजनिक भएका जेफ्री एपस्टीनका फाइलहरूमा सन् २०१७ मार्च ३ को एउटा इमेललाई लिएर विभिन्न अड्कलबाजीहरू भइरहेका छन्।

अनलाइन पोस्टहरूका अनुसार उक्त इमेल 'बिल' नाम गरेका व्यक्तिलाई सम्बोधन गरिएको छ, जसलाई धेरैले अर्बपति बिल गेट्स भएको दाबी गरेका छन्। साथै, उक्त इमेलको बोधार्थ ल्यारी कोहेनलाई समेत पठाइएको बताइएको छ।

विभिन्न सामाजिक सञ्जालका पोस्टहरूको  अनुसार उक्त इमेलमा एपस्टीनको समूहले केही नयाँ परियोजनाहरूको प्रस्ताव राखेको थियो। जसमा कोभिड महामारीको  सिमुलेशन (कृत्रिम अभ्यास), स्वास्थ्य तथ्याङ्क प्रणालीको विकास, अमेरिकी स्वास्थ्य क्षेत्रको खर्चसम्बन्धी प्रतिवेदन र न्युरोलोजिकल प्रविधिहरू जस्ता विषयहरू समेटिएका थिए।

केही प्रयोगकर्ताहरूले यो इमेललाई पछि भएका विश्वव्यापी महामारी र त्यससम्बन्धी अभ्यासहरूसँग जोड्ने प्रयास गरेका छन्। यी सबै आंकलन   सामाजिक सञ्जालमा भाइरल भएका 'स्क्रिनसट' र अन्य  विवरणहरूमा आधारित छन्। आधिकारिक रूपमा कुनै पनि पूर्ण कागजात वा प्रमाण भने अहिलेसम्म सार्वजनिक भएका छैनन्।

बिल गेट्स र उनका प्रतिनिधिहरूले एपस्टीनसँग जोडिएका यस्ता आरोपहरूको खण्डन गरिसकेका छन्। गेट्सले एपस्टीनसँगको आफ्नो भेटघाटलाई एउटा 'ठूलो गल्ती' भएको स्वीकार गरे पनि कुनै पनि गैरकानुनी वा विवादास्पद परियोजनामा आफ्नो संलग्नता नरहेको दाबी  गर्दै आएका छन्।

'एप्स्टिन फाइल' कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित कानुनी कागजात, हवाइ उडान रेकर्ड, भेटघाटका नोट र शिलबन्दी गरिएका अभिलेखहरूको एक संग्रह हो।

अमेरिकी न्याय विभागले चरणवद्ध रुपमा यी फाइल सार्वजनिक गरिरहेको छ। यी फाइलहरूले एप्स्टिनको व्यापक राजनीतिक पहुँच र उनले बालिकाहरूलाई गर्ने  दुर्व्यबहार बुझ्न सहयोग गरेको बताइन्छ।