शीर्षकहरू

नाफा बुकिङपछि लगानीकर्ता पुनः सक्रिय बन्दा शेयर बजारमा हरियाली

नेप्से २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा, ११ अर्ब ५८ करोडको कारोबार

नाफा बुकिङपछि लगानीकर्ता पुनः सक्रिय बन्दा शेयर बजारमा हरियाली

काठमाडौं। नाफा बुकिङपछि लगानीकर्ता पुनः सक्रिय बन्दा दुई दिनको गिरावटपछि बिहीबार शेयर बजारमा हरियाली फर्किएको छ। लगानीकर्ताले नाफा बुक गरेपछि पुनः बजारमा सहभागिता बढाउँदा नेप्से दोहोरो अंकले उक्लिएको हो।

चुनाव नजिकिँदै गर्दा पूँजी बजारमा देखिएको अल्पकालीन उत्साह पछिल्ला दिनहरूमा नाफा बुकिङका कारण कमजोर बनेको थियो। भविष्यको सरकार र आर्थिक नीतिबारे स्पष्टता नहुँदा बजार दीर्घकालीन रूपमा स्थिर हुन नसकेको विश्लेषकहरूको भनाइ छ। यही अनिश्चितताका कारण बजारमा छोटो अवधिको उतार–चढाव बढेको देखिन्छ।

यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर क्रमशः घट्दै जानु, तरलता अवस्था सहज बन्दै जानु र पूँजी बजारप्रति सरकार तथा नियामक निकायको धारणा तुलनात्मक रूपमा उदार देखिनुले आगामी दिनमा बजार स्थायित्वको अपेक्षा गरिएको छ। विशेषज्ञहरूका अनुसार संयमित लगानी रणनीति अपनाएमा बजार क्रमिक रूपमा सुधारतर्फ जान सक्छ।

यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेका दोस्रो त्रैमासिक वित्तीय विवरणले बजारलाई मिश्रित सन्देश दिएको छ। केही संस्थाको नाफा, कर्जा विस्तार र सम्पत्ति गुणस्तर कमजोर देखिनुले लगानीकर्तामा सतर्कता बढाएको छ, जसले बजारलाई अझै संवेदनशील बनाइरहेको छ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेको छ। यस दिन ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ। वाणिज्य बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटनसहित जलविद्युत, लगानी र बीमा समूहमा उल्लेख्य सुधार देखिएको छ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर अग्रस्थानमा रहँदै ५८ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। राधी विद्युत र एसवाई प्यानल नेपाल पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्।

यस दिन कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ।

विश्लेषकहरूका अनुसार बजारमा देखिएको सुधार अल्पकालीन भए पनि ब्याजदर घट्ने क्रम र राजनीतिक स्पष्टताले आगामी दिनमा बजारको दिशा निर्धारण गर्नेछ।

null