शीर्षकहरू

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल सेवा विस्तार र ग्रामीण पहुँचमा जोड

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल सेवा विस्तार र ग्रामीण पहुँचमा जोड

काठमाडौं। नेपाल टेलिकमले आफ्नो  २२औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न गरेको छ। केन्द्रीय कार्यालयसहित देशभरका प्रादेशिक निर्देशनालय र कार्यालयहरूमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा टेलिकम सञ्चालक समिति अध्यक्ष लक्ष्मी कुमारी बस्नेतको अध्यक्षता रहेको थियो।

प्रमुख अतिथि गृहमन्त्री ओमप्रकाश आर्यालले डिजिटल विभाजन न्यूनीकरण र ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारमा टेलिकमले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। उनले सरकारी नीतिअनुसार नागरिक–सरकार सम्बन्ध मजबुत बनाउन टेलिकमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

कार्यक्रममा मन्त्रालयका सचिव बस्नेतले नयाँ प्रविधि आत्मसात गर्दै सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहमा टेलिकमले निरन्तर काम गरिरहेको बताइन्। उनले टेलिहेल्थ, टेलिमेडिसिन, टेलि–एजुकेसनजस्ता सेवाको विस्तारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको टेलिकमले नेटवर्क विस्तार र बजार पहुँच अझै बढाउन सक्ने सम्भावना रहेको बताए। उनले प्राधिकरणमार्फत स्वीकृत परियोजना समयमै सम्पन्न गर्न सुझाव दिए।

टेलिकमका नायब प्रबन्ध निर्देशक राजेन्द्र आर्यालले कम्पनीको समग्र अवस्थाबारे जानकारी गराउँदै FTTH सेवा सातै प्रदेशका ७७ जिल्लाका ७४४ स्थानीय तहमा विस्तार भइसकेको बताए। फाइभजी सेवा सुरु गर्ने तयारी, डाटा सेन्टर निर्माण, नयाँ बिलिङ प्रणाली तथा ‘एनटी क्लाउड’ प्लेटफर्म विकासको काम पनि अगाडि बढिरहेको उनले जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा टेलिकमले विभिन्न ग्राहक केन्द्रित अफर सार्वजनिक गरेको छ। GSM प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताका लागि डाटा, भ्वाइस र एसएमएससहितका विशेष प्याकेज उपलब्ध गराइएको छ। साथै, FTTH सेवामा नयाँ जडान तथा नवीकरण गर्ने ग्राहकलाई बोनस डाटा सुविधा पनि दिइएको छ।

कार्यक्रममा उत्कृष्ट बिक्री गर्ने कार्यालय, वितरक तथा FTTH सेवामा उत्कृष्ट प्रदर्शन गर्ने इकाइलाई सम्मान गरिएको थियो। साथै, २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले आगामी दिनमा डिजिटल सेवा विस्तार, प्रविधि आधुनिकीकरण र ग्राहक सन्तुष्टि केन्द्रमा राखेर सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।