काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति माग्दै ८८ कम्पनी पाइपलाइनमा रहेका छन् । यी कम्पनीहरुले ५९ अर्ब ५३ करोड रुपैयाँ बराबरको ४१ करोड ५३ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेका छन् । बजारमा आईपीओ आपूर्ति बढ्ने संकेत देखिए पनि स्वीकृति प्रक्रिया सुस्त रहँदा लगानीकर्ताको प्रतीक्षा लम्बिँदै गएको छ ।
सेबोनको तथ्यांकअनुसार पाइपलाइनमा रहेका कम्पनीमध्ये करिब एक दर्जनले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् । हालसम्म ८८ कम्पनीले आवश्यक कागजातसहित औपचारिक रूपमा आईपीओ निष्कासनका लागि निवेदन दर्ता गरिसकेका छन् भने बाँकी कम्पनी प्रक्रिया पुरा गर्ने चरणमा छन् ।
हाइड्रोपावर कम्पनीको वर्चस्व, उत्पादन क्षेत्र दोस्रो स्थानमा
आईपीओ पाइपलाइनमा सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी रहेका छन् । यस क्षेत्रमा ३४ कम्पनीले सेबोनसँग अनुमति मागेका छन् । यी कम्पनीहरूले कुल १६ करोड १ लाख ७१ हजार कित्ता सेयर निष्कासनमार्फत करिब १६ अर्ब ४२ करोड रुपैयाँ जुटाउने तयारी गरेका हुन् । ऊर्जा क्षेत्रमा लगानीको आकर्षण कायमै रहे पनि परियोजनाको प्राविधिक अवस्था, पीपीए र सीओडीको अनिश्चितताले स्वीकृतिमा ढिलाइ भइरहेको देखिन्छ ।
हाइड्रोपावरपछि उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरूको संख्या उल्लेखनीय छ। यस क्षेत्रका २५ कम्पनीले १५ करोड ४१ लाख कित्ता सेयरमार्फत ३१ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् । तीमध्ये ६ कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासनको प्रस्ताव गरेका छन्, जसले उत्पादन क्षेत्रमा लगानीकर्ताको अपेक्षा र जोखिम दुवै बढाएको विश्लेषकहरु बताउँछन् ।
होटल, लगानी र माइक्रो इन्स्योरेन्स पनि प्रतीक्षामा
होटल तथा पर्यटन क्षेत्रका ११ कम्पनीले ३ करोड ४४ लाख कित्ता सेयरमार्फत ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन् । पर्यटन क्षेत्र क्रमशः पुनरुत्थानको चरणमा रहेकाले यी कम्पनीका आईपीओलाई दीर्घकालीन दृष्टिले हेरिनुपर्ने विश्लेषण छ ।
लगानी क्षेत्रका ४ कम्पनीले करिब ३ अर्ब १४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् भने माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनीको करिब ६७ करोड रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा रहेको छ । बीमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रलाई नियामक सुधारसँगै सम्भावनायुक्त मानिए पनि कम्पनीहरूको वित्तीय स्थायित्व लगानीकर्ताका लागि मुख्य चासोको विषय बनेको छ ।
यसैगरी, अन्य विविध क्षेत्रका ११ कम्पनीले पनि करिब ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति मागेका छन् ।
बजार विश्लेषकहरुका अनुसार एकैपटक ठूलो मात्रामा आईपीओ आउनुले पूँजी बजारमा तरलता तानिने जोखिम रहन्छ । हाल द्वितीय बजारमा कारोबार कमजोर र लगानीकर्ताको मनोबल उतार–चढावमा रहेकाले आईपीओको सफलतामा बजारको समग्र अवस्था निर्णायक हुने देखिन्छ ।
ब्याजदर घट्दो क्रममा रहेकाले दीर्घकालीन लगानीका लागि आईपीओ आकर्षक बन्न सक्ने सम्भावना भए पनि, परियोजना–आधारित कम्पनी, विशेष गरी हाइड्रोपावर र उत्पादन क्षेत्रका आईपीओमा जोखिम मूल्यांकन नगरी लगानी गर्नु उपयुक्त नहुने विज्ञहरुको भनाई छ ।
सेबोनले स्वीकृति प्रक्रिया छरितो बनाउँदै गुणस्तरीय कम्पनीलाई प्राथमिकता दिएमा बजारमा विश्वास बढ्ने र आईपीओ बजारले स्थायित्व पाउने अपेक्षा गरिएको छ । हाल पाइपलाइनमा रहेका यी ८८ कम्पनीको आईपीओ निष्कासन सेबोनको अन्तिम स्वीकृतिपछि मात्रै अघि बढ्नेछ ।
आर्थिकन्यूज