शीर्षकहरू

निर्वाचन सुरक्षा तयारीमा सुरक्षा निकाय, कर्मचारीलाई राजीनामा–बिदा रोक

निर्वाचन सुरक्षा तयारीमा सुरक्षा निकाय, कर्मचारीलाई राजीनामा–बिदा रोक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअगाडि चारवटै सुरक्षा निकायले आफ्ना कर्मचारीलाई राजीनामा दिन र घरबिदामा बस्न रोक लगाएका छन्।

निर्वाचनको तयारीका लागि २१ फागुनमा खटिनुपर्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक परिपत्र जारी गरी राजीनामा, घरबिदा, रमाना र सरुवा स्थगित गरेका हुन्।

निर्वाचन सुरक्षा व्यवस्थामा करिब सवा तीन लाख सुरक्षाकर्मी परिचालन हुनेछन्। सेनाले बुधबारबाट जनशक्तिलाई फिल्डमा खटाउन सुरु गरेको छ। समग्रत: करिब ८० हजार सेना, ७१ हजार प्रहरी, ३५ हजार सशस्त्र र दुई हजार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी निर्वाचन सुरक्षामा खटाइने व्यवस्था गरिएको छ।

निर्वाचन एकीकृत सुरक्षा कार्ययोजनाअनुसार ४० दिनको कार्यअवधिका लागि एक लाख ४९ हजार ९० जनालाई निर्वाचन प्रहरीमा भर्ना गरिएको छ। यसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट आधारभूत सुरक्षा र अनुशिक्षण तालिम दिइएको छ। अर्को सातादेखि निर्वाचन प्रहरी फिल्डमा परिचालन हुने तयारीमा छन्।

निर्वाचन आयोगले पनि आसन्न निर्वाचनलाई लक्षित गरेर कर्मचारी सरुवा, बढुवा, नियुक्ति र मतदातालाई प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न सरकारलाई निर्देशन दिइसकेको छ। २१ फागुनमा समानुपातिकतर्फ ११० र प्रत्यक्षतर्फ १६५ सिटमा एकै चरणमा निर्वाचन सञ्चालन हुने तयारी छ।