काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ। कम्पनीले पहिलो तीन महिनामा ९१ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो।
गत आर्थिक वर्षमा कम्पनीले ५ अर्ब १३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। त्यस्तै, सन् २०२४ मा ४ अर्ब ४८ करोड ४० लाख, सन् २०२३ मा ४ अर्ब ७९ करोड १० लाख र सन् २०२२ मा ५ अर्ब ४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीका अनुसार कारोबारमा क्रमशः सुधार हुँदै गएको छ।
यद्यपि, कम्पनीले गत आर्थिक वर्ष र सन् २०२४ मा खुद घाटा व्यहोरेको थियो। सन् २००७ मा स्थापना भएको घोराही सिमेन्ट सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको हो। त्रिवेणी र विशाल ग्रुपको संयुक्त लगानी रहेको कम्पनीको अध्यक्ष आदित्य संघाई हुन्। दाङमा रहेको उद्योगले क्लिङ्कर, ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
विरेन्द्रकुमार संघाई र गोविन्दलाल संघाईको १०–१० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब ७० करोड ४१ लाख रुपैयाँको रेटिङ गराएको छ। जसअन्तर्गत दीर्घकालीन कर्जा ७ अर्ब २८ करोड ८३ लाख रुपैयाँ र अल्पकालीन कर्जा ३ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ रहेको छ।
आर्थिकन्यूज