शीर्षकहरू

सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि सर्वसाधारणका लागि खुला

सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि अब सर्वसाधारणका लागि शेयर खुला गरिएको हो।

कम्पनीले १ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, र ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गते हुनेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई CARENP Double B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २७ वर्ष ५ महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहने अनुमान गरिएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।