शीर्षकहरू

६ महिनामा वैदेशिक अध्ययनका लागि ६७ अर्ब ४७ करोड बाहिरियो

६ महिनामा वैदेशिक अध्ययनका लागि ६७ अर्ब ४७ करोड बाहिरियो

काठमाडौं । नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेशीदा ६ महिनामा साढे ६७ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पौष मसान्तसम्म नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जाँदा ६७ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको हो । 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ७० करोड धेरै हो । गत वर्षको सोही अवधिमा ५६ अर्ब ७७ करोड रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

यस अवधिमा खुद सेवा आय ४१ अर्ब ५५ करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय २९ अर्ब ४७ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ०.८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब ८८ करोड रहेको थियो ।

पछिल्लो ६ महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४.२ प्रतिशतले वृद्धि भई १०५ अर्ब ५६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १ अर्ब ३३ करोड रहेको थियो ।