काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गरेको छ । केयुकेएलले एनसीएचएलसँग सम्झौता गरी आफ्ना भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित बनाउँदै एनसीएचएलको भुक्तानी प्रणाली प्रयोगमार्फत डिजिटल भुक्तानी सुरु गरेको हो ।
सम्झौतापत्रमा केयुकेएलका तर्फबाट कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि केयुकेएलको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ । यसमार्फत केयुकेएलले एनसीएचएल–आईपीएस तथा आरपीएस प्रणाली प्रयोग गरी तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष तथा नागरिक लगानी कोषसम्बन्धी भुक्तानी डिजिटल माध्यमबाट गर्न सक्नेछ ।
यी भुक्तानीहरू केयुकेएलको बैंक खाताबाट सिधै सम्बन्धित लाभग्राही वा सेवाग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ । एनसीएचएलका अनुसार आगामी दिनमा अन्य भुक्तानी सेवाहरू पनि क्रमिक रूपमा लागू गरिनेछ ।
एनपीआई प्रणाली ओपन एपीआई अवधारणामा आधारित एकीकृत भुक्तानी इन्टरफेस हो । हाल यस प्रणालीमा ५४ सदस्य बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने भुक्तानी सेवा प्रदायक, रेमिटेन्स कम्पनी, लघुवित्त, सरकारी तथा अर्धसरकारी संस्था गरी ११० भन्दा बढी गैर–बैंकिङ संस्था अप्रत्यक्ष तथा प्राविधिक सदस्यका रूपमा जोडिएका छन् ।
केयुकेएलले काठमाडौं उपत्यकाभित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । सेवाप्रवाहमा सुधार ल्याउने उद्देश्यसहित संस्थाले लामो समयदेखि आवश्यक रहेको डिजिटलाइजेसन अभियानलाई तीव्रता दिँदै बिलिङ तथा भुक्तानी प्रक्रिया स्वचालित बनाउने पहल गरेको जनाएको छ ।
डिजिटल भुक्तानी प्रणाली लागू भएसँगै केयुकेएलको सेवा प्रवाह थप छरितो, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
आर्थिकन्यूज