शीर्षकहरू

देशको आधा जनसंख्या बीमाको छातामुनि, वर्षमा साढे ६ प्रतिशत वृद्धि

देशको आधा जनसंख्या बीमाको छातामुनि, वर्षमा साढे ६ प्रतिशत वृद्धि

काठमाडौं । देशको आधा जनसंख्या बीमाको दायरामा आएका छन् । नेपाल बीमा प्राधिकारणले सार्वजनिक गरेको रिपोर्ट अनुसार कुल जनसंख्याको ५० प्रतिशत मानिस बीमाको दायरामा आएका छन् । यो गत आर्थिक वर्षको पौष मसान्तसम्मको तुलनामा ६.३८ प्रतिशत विन्दुले वृद्धि भएको हो । 

प्राधिकरणका अनुसार गत वर्षको पौष मसान्तसम्म ४३.६२ प्रतिशत जनसंख्या बीमाको दायरामा थिए । सरकारले १५औँ पन्चवर्षे योजनामा बीमाको ५० प्रतिशत जनसंख्यालाई बीमाको दायरामा ल्याउने उल्लेख गरेको थियो । 

हाल १६औँ योजना जारी छ । सरकारले तोकेको समयको केही वर्ष पछि मात्र लक्ष पुरा भएको हो । 

तर, प्राधिकरणका अनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा सहित बीमाको दायरा ५० प्रतिशत पुगेको हो । यसले गर्दा अहिले ५० प्रतिशत जनसंख्या बीमाको दायरा भित्र छन् भनेर भन्न नमिल्ने बीमाका जानकारहरु बताउँछन् । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा बाहेक बीमाको छातामा १८ प्रतिशत जनसंख्या मात्रै रहेको प्राधिकरणले नै जनाएको छ । यसले गर्दा अहिले बीमाको दायरमा ५० प्रतिशत होइन १८ प्रतिशत जनसंख्या मात्र छन् भनेर बुझ्नु पर्ने उनको भनाई छ । 

आर्थिक न्यूजसँग कुरागर्दै ति जानकारले भने, '५० प्रतिशत जनसंख्याले जीवन बीमा (म्यादी बाहेक) पोलिसि खरिद गरेको र हालसको समया सो पोलिसि सक्रिय रहेको अवस्थामा मात्रै ५० प्रतिशत दायरा भित्र छन् भन्न पाइन्छ । अहिले त १८ प्रतिशत दायर भित्र र ८० प्रतिशत दायरा बाहिर रहेका छन् ।’

यता, प्राधिकरणका एक उपनिर्देशकले जति मानिसले बीमा गरेका छन् उनीहरु सबैलाई दायरा भित्र नै छन् भनेर गणना गर्न सकिने दाबी गरेका छन् । म्यादी बीमा पनि एक प्रकारको बीमा नै भएकाले उनीहरुलाई पनि दायरा भित्र रहेका भनेर बुझ्नु पर्ने उनको तर्क छ । 

नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीले अनिवार्य रुपमा म्यादी जीवन बीमा गर्नुपर्ने प्रावधान रहेको छ । पौष मसान्तसम्म २५ लाख ५ हजार १०६ जनाको वैदेशिक रोजगार म्यादी जीवन बीमा सक्रिय छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.१९ प्रतिशत बढी हो । 

यसैगरी, ७८ लाख ३५ हजार २३९ जनाको म्यादी र लघु म्यादी जीवन बीमा सक्रिय छ पछिल्लो समयमा बीमाको व्यापार पनि वृद्धि भएको छ । अर्थतन्त्र सुस्त भइरहेका बेला बीमाको व्यापारमा भने उत्साहजनक प्रगति देखिएको छ । चालु आवको ६ महिनामा गत आवको सोही अवधिको तुलनामा बीमाको व्यापार १८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा जीवन र निर्जीवन कम्पनीले १ खर्ब २१ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको सोही अवधिमा १ खर्ब २ अर्ब ४८ करोड रुपैयाँ थियो ।

जीवन बीमाको व्यापार १९ र निर्जीवनको १४ प्रतिशतले बढेको छ । हाल बीमा क्षेत्रमा १२ हजार ३७७ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ६ हजार १०८ जना जीवन र ६ हजार २६९ जना निर्जीवन क्षेत्रमा कार्यरत छन् । गत आवको सोही अवधिमा ११ हजार ९०१ जनाले यस क्षेत्रमा रोजगारी पाएका थिए । 

१४ जीवन, १४ निर्जीवन, ७ लघु र २ पुनर्बीमा सहित ३७ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।