शीर्षकहरू

कुमारी फोनलोनमा ‘मल्टि डिस्बर्सल’ सुविधा, डिजिटल कर्जा अझ लचिलो र सहज

कुमारी फोनलोनमा ‘मल्टि डिस्बर्सल’ सुविधा, डिजिटल कर्जा अझ लचिलो र सहज

काठमाडौं । नेपालको डिजिटल कर्जा प्रवाहमा अग्रणी प्लेटफर्म फोनलोन र कुमारी बैंक लिमिटेडबीचको सहकार्यमा ‘कुमारी फोनलोन’ अन्तर्गत नयाँ ‘मल्टि डिस्बर्सल’ सुविधा सार्वजनिक गरिएको छ । डिजिटल बैंकिङलाई अझ लचिलो, सहज र ग्राहककेन्द्रित बनाउने उद्देश्यका साथ यो नवीन सेवा सुरु सञ्चालनमा ल्याइएको हो ।

यसअघि एक पटकमा एउटा मात्र कर्जा लिन मिल्ने व्यवस्थाका कारण ग्राहकहरूले स्वीकृत भएको सम्पूर्ण रकम एकैचोटि लिनुपर्ने अवस्था रहेको थियो। थोरै रकम मात्र उपभोग गर्दा पनि बाँकी रहेको सीमा प्रयोग गर्न पुरानो कर्जा पूर्ण रूपमा राफसाफ गर्नुपर्ने अवस्था थियो। यही असुविधालाई मध्यनजर गर्दै ‘मल्टि डिस्बर्सल’ सुविधा ल्याइएको हो, जसले योग्य ग्राहकहरूलाई आफ्नो आवश्यकता र सहजता अनुसार पटक–पटक कर्जा लिन सक्ने स्वतन्त्रता प्रदान गरेको छ ।

यस सुविधा अन्तर्गत ग्राहकले आफूलाई स्वीकृत कुल कर्जा सीमा आवश्यकता अनुसारको रकम मात्र पटक(पटक निकाल्न सक्नेछन् भने बाँकी सीमा भविष्यका लागि सुरक्षित रहनेछ। यसरी वास्तविक रूपमा प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्ने भएकाले ग्राहकलाई अनावश्यक ब्याजको भार पर्ने छैन। साथै, कुनै पनि कागजी प्रक्रिया वा बैंक भ्रमण नगरी मोबाइल बैंकिङ मार्फत तत्कालै यो सुविधा उपभोग गर्न सकिनेछ ।

सुविधा सार्वजनिक गर्दै फोनलोनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर शर्माले भने, ‘फोनलोनमा हामी सधैं ग्राहकको जीवनशैली र वित्तीय आवश्यकतालाई आत्मसात् गर्दै सेवा विस्तारमा जोड दिन्छौं । सबै अवस्थामा एकै पटक पूरा कर्जा आवश्यक नहुन सक्छ, त्यसैले मल्टि डिस्बर्सल सुविधाले प्रयोगकर्ताहरूलाई कर्जामाथिको नियन्त्रण, पारदर्शिता र सहि सदुपयोग गर्ने अवसर प्रदान गर्नेछ ।’

कुमारी बैंकका योग्य ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ एप मार्फत बिना धितो र बिना कुनै कागजी प्रक्रिया तत्कालै कर्जा प्राप्त गर्न सक्नेछन् । फोनलोनले यस सुविधा मार्फत नेपालको डिजिटल कर्जा इकोसिस्टममा एक नयाँ आयाम थप्दै ग्राहकहरूको वित्तीय सहजतालाई उच्च प्राथमिकता दिएको छ ।