काठमाडौं । अम्बे ग्रुप अन्तर्गत सञ्चालित जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन प्रस्तावसहित फागुन १४ गते तेस्रो वार्षिक साधारणसभा (एजीएम) बोलाउने निर्णय गरेको हो ।
सभाले प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने आईपीओ प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिनेछ । साथै, गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछन् ।
साधारणसभाबाट विशेष प्रस्ताव पारित भएपछि तोकिएको परिमाणमा सेयर प्रिमियम मूल्यमा निष्कासन गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
२०७६ सालमा स्थापना भएको जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । बाँकेको नेपालगञ्जमा अवस्थित यस उद्योग पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योगका रूपमा परिचित छ । कम्पनीका अनुसार ‘अम्बे’ ब्रान्डअन्तर्गत उत्पादन हुने स्टीलले पश्चिम नेपालकै करिब ८० प्रतिशत बजार हिस्सा ओगटेको छ ।
कम्पनीको हालको दैनिक उत्पादन क्षमता करिब १ हजार टन रहेको छ । उद्योगले इन्डक्सन फर्नेस प्रविधिबाट टीएमटी स्टील, एमएस बिलेट, एमएस फ्लाट, एमएस स्क्वायर, तोरकारी, ग्याबियन बक्सलगायतका निर्माण सामग्री उत्पादन गर्दै आएको छ । यी उत्पादन निर्माण, होटल, उद्योग तथा पूर्वाधार आयोजनामा व्यापक रूपमा प्रयोग हुँदै आएका छन् ।
अम्बे ग्रुप नेपालका ठूला व्यावसायिक समूहमध्ये एक हो । समूहको वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा बढी रहेको बताइन्छ । जय अम्बे स्टील्सले आईपीओमार्फत पुँजी जुटाएर उत्पादन विस्तार, क्षमता वृद्धि तथा दीर्घकालीन लगानी योजना अघि बढाउने रणनीति लिएको जनाएको छ ।
आर्थिकन्यूज